भागोप्रमोको केन्द्रिय समितिको बैठकमा गोर्खाल्याण्ड मुद्दा अनि पार्टी रणनीतिमाथि गहन छलफल
bgpm meeting


खरसाङ, 01 अगस्त (हि.स.)। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रिय समितिको महत्वपूर्ण बैठक शनिवार खरसाङमा सम्पन्न भएको छ। बैठकमा पार्टीको भावी राजनीतिक दिशा, गोर्खाल्याण्डको मुद्दा, सांगठनिक विस्तार तथा पहाडको वर्तमान राजनीतिक अवस्थाबारे विस्तृत छलफल गरिएको थियो।

सभालाई सम्बोधन गर्दै पार्टीे अध्यक्ष अनित थापाले भने, हिजोको राजनीतिक सोच र आजको सोचबीच आकाश-पातालको फरक छ। मैले जीटीए त्यागेको मुख्य कारण गोर्खाल्याण्ड प्राप्ति कै निम्ति हो। अब यही प्राप्ति गर्ने नै पार्टीको प्राथमिक मुद्दा रहनेछ।

बैठकमा पार्टी महासचिव अमर लामाले भागोप्रमो पार्टीलाई धेरैले एजेन्सीका रूपमा बुझ्ने गरेको बताउँदै पार्टीलाई एक स्वतन्त्र राजनीतिक दलका रूपमा स्थापित गर्नुपर्ने आवश्यकता औंल्याए। उनको अनुसार, भागोप्रमो क्षेत्रीय भावना र आकाङ्क्षा बोकेको दल हो। तिनले दार्जिलिङको वर्तमान राजनीतिलाई अस्थिर र अवसरवादी शैलीको संज्ञा दिए।

आफ्नो सम्बोधनमा केन्द्रिय सदस्य नेता ज्योति कुमार राईले पार्टीको भावी रणनीतिबारे बोल्दै समयसँगै पार्टी बलियो बन्दै जाने विश्वास व्यक्त गरे। तिनले पहाडमा उठिरहेका विभिन्न जातीय मुद्दाहरूमाथि पार्टीले गहन मन्थन गर्नुपर्ने र यस्तो अनुकूल समयलाई उचित रूपमा प्रयोग गर्नुपर्ने आवश्यकतामा जोड दिए।

अर्का केन्द्रिय सदस्य नेता बारुद थापाले खराब दिनलाई राम्रो दिनमा बदल्नु नै राजनीति भएको बताउँदै अरूले पार्टी छाडेर गए पनि आफूहरू पार्टीमै रहेर राजनीति गर्ने प्रतिबद्धता जनाए। आलोक कान्तमणि थुलुङले गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन (जीटीए) लाई कमजोर बनाई सन् 1986 अघिकै अवस्थामा पुर्याइएको आरोप लगाए। तिनका अनुसार, शोषण चरम सीमामा पुगेपछि मात्र पहाडमा विद्रोह विस्फोट हुनेछ। तिनले पहाडको राजनीतिमा नैतिकता हराउँदै गएको र विपक्षविहीन, मेरुदण्डहीन राजनीति चलिरहेको भन्दै चिन्ता व्यक्त गरे।

पार्टी सचिव सञ्चवीर सुब्बाले आफ्नो जातिको संघर्ष रोजीरोटीका लागि नभई वासभूमिका लागि भएको बताए। उनका अनुसार, जातीय पहिचान र सुरक्षाका लागि संघर्ष निरन्तर जारी राख्नुपर्छ।

बैठकमा गोर्खाल्याण्डको मुद्दालाई पार्टीको सर्वोच्च प्राथमिकतामा राख्ने र आगामी अधिवेशनमा यसबारे थप छलफल गर्ने निर्णय गरिएको छ।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande