भाजपा सिक्किमले नथुला सीमा व्यापार पुनः सञ्चालन भएकोमा स्वागत जनायो
bjp


गान्तोक, 01 अगस्त (हि.स.)। भारतीय जनता पार्टी (भाजपा), सिक्किमले छह वर्षपछि ऐतिहासिक नथुला पासमार्फत सीमा व्यापार पुनः सञ्चालन भएकोमा हार्दिक स्वागत गरेको छ। प्रदेश भाजपाले यसलाई आर्थिक सहकार्य सुदृढ़ गर्ने, क्षेत्रीय समृद्धिलाई प्रवर्द्धन गर्ने तथा भारत र चीनबीचको विश्वास पुनःस्थापित गर्ने दिशामा महत्वपूर्ण उपलब्धि‌ बताएको छ।

भाजपा प्रवक्ता पासाङ शेर्पाद्वारा आज जारी प्रेस विज्ञप्तिमा भनिएको छ, नथुला व्यापार मार्गको पुनः सञ्चालन पूर्व प्रधानमन्त्री स्वर्गीय अटल बिहारी वाजपेयीको नेतृत्वमा रहेको एनडीए सरकारको दूरदर्शी पहलको निरन्तरता हो। उहाँको २००३ को चीन भ्रमणका क्रममा भएको ऐतिहासिक भारत-चीन सम्झौतापछि ६ जुलाई, २००६ मा नथुला व्यापार मार्ग औपचारिक रूपमा पुनः सञ्चालन गरिएको थियो। यससँगै ४४ वर्षपछि सिक्किम र तिब्बतबीचको व्यापारिक सम्पर्क पुनः स्थापित भएको थियो र प्राचीन सिल्क रुटको एउटा महत्त्वपूर्ण अध्याय पुनर्जीवित भएको थियो।

प्रदेश भाजपाले कोभिड-१९ महामारी तथा सीमाक्षेत्रको परिस्थितिका कारण २०२० देखि सीमा व्यापार स्थगित भए पनि आजको पुनः सञ्चालनले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारत सरकारले सामान्य अवस्था पुनःस्थापना गर्ने, सीमाक्षेत्रमा शान्ति प्रवर्द्धन गर्ने, राष्ट्रिय हितको संरक्षण गर्दै छिमेकी मुलुकहरूसँग रचनात्मक सहकार्यलाई अघि बढाउने प्रतिबद्धतालाई प्रतिबिम्बित गरेको जनाएको छ।

पार्टीले नथुला व्यापार पुनः सञ्चालनले सिक्किममा व्यापार, वाणिज्य, पर्यटन, रोजगारी तथा जीविकोपार्जनका अवसरहरूमा उल्लेखनीय वृद्धि हुने विश्वास व्यक्त गरेको छ। यसबाट विशेष गरी स्थानीय व्यापारी, यातायात व्यवसायी, होटल तथा आतिथ्य क्षेत्रका व्यवसायी र सीमावर्ती समुदाय लाभान्वित हुने विश्वास व्यक्त गरिएको छ।

साथै, यसले भारत र चीनबीचको द्विपक्षीय आर्थिक सम्बन्ध तथा जनस्तरको आपसी सम्पर्कलाई अझ सुदृढ़ बनाउने अपेक्षा गरिएको छ। यस सकारात्मक उपलब्धिका लागि भाजपा सिक्किमले भारत तथा चीन सरकारलाई बधाई ज्ञापन गर्दै सीमावर्ती व्यापारको पुनः सञ्चालनले दुवै राष्ट्रका हितमा आर्थिक अवसर, क्षेत्रीय सम्पर्क र दीर्घकालीन शान्तिको नयाँ युगको शुरुवात गर्ने विश्वास व्यक्त गरेको छ।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande