
काठमाडौं, १६ अगस्त (हि.स.)। पाँच महिनाको निर्वासनपछि स्वदेश फर्किएका नेपालका पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले आफू हिन्दू राष्ट्रको पक्षमा रहेको बताएका छन्। आइतबार पार्टीको एक राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै देउवाले आफू हिन्दू धर्मावलम्बी भएको स्पष्ट पारे।
देउवाले आफू हिन्दू भएकाले कुनै धर्म वा सम्प्रदायको विरोधी हुन नसक्ने बताए। उनले भने, “म हिन्दू हुँ। म कसैको विरोधी होइन।” नेपालमा मुस्लिम धर्मावलम्बी तथा इसाई समुदायका मानिसहरू रहेको उल्लेख गर्दै उनले प्रत्येक व्यक्तिलाई आफूले कुन धर्म मान्छु भनेर खुलेर भन्न र आफ्नो धर्ममा विश्वास गर्ने अधिकार हुनुपर्ने बताए।
उनले यस विषयमा कुनै भ्रम नराख्न आग्रह गर्दै आफ्नो विवाह तथा व्रतबन्ध संस्कारसमेत हिन्दू परम्पराअनुसार भएको बताए। वर्तमान समयमा कसैले पनि आफूलाई हिन्दू नभन्न बाध्य पार्न नसक्ने उनको भनाइ थियो।
देउवाले आफू मन्दिर जाने र पशुपतिनाथको पूजा गर्ने गरेको उल्लेख गर्दै भने, “म पशुपतिनाथ जान मन पराउँछु। त्यसैले म हिन्दू हुँ, हिन्दू हुँ, हिन्दू हुँ।”
यद्यपि, आफ्नो हिन्दू हुनुको अर्थ अन्य धर्ममाथि प्रतिबन्ध लगाउनु नभएको देउवाले स्पष्ट गरे। उनले आफूले अहिलेसम्म सबै धर्मावलम्बीको सम्मान गर्दै आएको र आगामी दिनमा पनि सबै धर्मको सम्मान गरिरहने बताए।
पूर्व प्रधानमन्त्री देउवाले नेपाललाई सनातन हिन्दू राष्ट्रका रूपमा अघि बढाउनुका साथै पूर्ण धार्मिक स्वतन्त्रता कायम हुनुपर्ने पक्षमा आफू रहेको बताए। यस विषयमा पार्टीका साथीहरूले जिज्ञासा राखेकाले आफूले आफ्नो धारणा स्पष्ट पारेको उनको भनाइ थियो। प्रत्येक व्यक्तिलाई आफूले कुन धर्म मान्ने भन्ने निर्णय गर्ने स्वतन्त्रता हुनुपर्ने र आफ्नो हकमा पनि यही कुरा लागू हुने उनले बताए।
राष्ट्रिय सम्मेलनमा पाँच प्रस्ताव पारित
नेपाली कांग्रेसको राष्ट्रिय सम्मेलन पाँचवटा प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ। निवर्तमान सभापति शेरबहादुर देउवाको नेतृत्वमा आयोजित दुईदिने सम्मेलनमा पार्टीको १५औँ महाधिवेशनदेखि धर्म तथा संस्कृतिसम्मका विषय समेटिएका प्रस्ताव पारित गरिएका छन्।
पारित प्रस्तावमा नेपालमा सनातनदेखि चलिआएको धर्म-संस्कृति देशको राष्ट्रिय पहिचानसमेत रहेको उल्लेख गरिएको छ। नेपालमा कायम धार्मिक सहिष्णुता, सामाजिक सद्भाव तथा प्रत्येक व्यक्ति र धार्मिक समुदायलाई आफ्नो धर्म पालन गर्ने धार्मिक स्वतन्त्रता सुनिश्चित गर्दै हिन्दू, बौद्ध र किराँत धर्मको संरक्षण गर्ने जिम्मेवारीलाई ध्यानमा राखिने प्रस्तावमा उल्लेख छ।
साथै, सनातन धर्मलाई राष्ट्रिय पहिचानका रूपमा अघि बढाउने प्रतिबद्धता पनि पारित प्रस्तावमार्फत व्यक्त गरिएको छ।
हिन्दुस्थान समाचार / बिशाल