नेपालमा एलपीजीको चरम अभाव, ग्यासको प्रत्यक्ष बिक्री तत्काल रोक्न माग
नेपाल में सरकार द्वारा की जा रही गैस बिक्री वितरण


काठमाडौं, १६ अगस्त (हि.स.)। नेपालमा खाना पकाउने एलपीजी ग्यासको अभाव बढ्दै गएपछि ग्यास विक्रेता महासंघले उद्योग तथा विभिन्न नाममा सञ्चालित बिक्री केन्द्रबाट भइरहेको ग्यासको प्रत्यक्ष बिक्री तत्काल रोक्न सरकारसँग माग गरेको छ।

महासंघले सम्बन्धित निकाय नेपाल आयल निगम, वाणिज्य मन्त्रालय तथा सरकारले वास्तविक समस्या समाधान गर्नुको सट्टा अनावश्यक प्रचार-प्रसारमा मात्र ध्यान दिएको आरोप लगाएको छ।

महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले प्रभावकारी वितरण प्रणालीअन्तर्गत रहेका विक्रेता तथा डिलरलाई हटाएर उद्योग र विभिन्न बिक्री केन्द्रमार्फत एलपीजी बिक्री गर्ने निर्णयले संकट झनै गम्भीर बनेको तथा उपभोक्ताले अनावश्यक सास्ती व्यहोर्नुपरेको बताए। उनले यस्तो प्रत्यक्ष बिक्री तत्काल रोक्न माग गरेका छन्।

महासंघका अनुसार एकातिर विक्रेतालाई पर्याप्त ग्यास उपलब्ध गराइएको छैन भने अर्कोतर्फ निरीक्षणका नाममा उनीहरूलाई अनावश्यक दुःख दिने काम भइरहेको छ। यसका कारण बजारको वितरण व्यवस्था अस्तव्यस्त बनेको महासंघको भनाइ छ।

महासंघले सरकार, उद्योग तथा विभिन्न नाममा सञ्चालित बिक्री केन्द्रमार्फत आफैं ग्यास बिक्री गर्ने र निरीक्षणका नाममा आम विक्रेतालाई अनावश्यक रूपमा दुःख दिने सरकारी रवैयाप्रति गम्भीर आपत्ति जनाएको छ।

महासंघले तत्काल ग्यास उद्योग तथा विभिन्न नाममा सञ्चालित बिक्री केन्द्रबाट भइरहेको प्रत्यक्ष बिक्री रोक्दै केवल विक्रेतामार्फत ग्यासको बिक्री-वितरण व्यवस्था सुचारु गर्न सरकारसँग आग्रह गरेको छ।

महासंघको दाबीअनुसार डिलरमार्फत वितरण प्रणालीलाई व्यवस्थित गरेमा मात्र उपभोक्ताको समस्या समाधान हुनुका साथै ग्यास अभावको वास्तविक समस्या पनि सम्बोधन गर्न सकिनेछ।

यसैगरी, महासंघले तथ्यांक सार्वजनिक गर्दै पछिल्लो चार महिनामा करिब ६० हजार टन कम एलपीजी ग्यास आयात भएको जनाएको छ। महासंघले अझै पनि नयाँ ग्यास सिलिन्डरको बिक्री रोकिएको छैन भन्दै तत्काल नियन्त्रण नगरिए आगामी वर्षहरूमा ग्यास अभावको समस्या अझ विकराल बन्न सक्ने चेताउनी दिएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande