
इमरान हाशमीको बहुप्रतीक्षित फिल्म ‘आवारापन २’ ले दर्शकको मन जित्नुका साथै बक्स अफिसमा पनि उत्कृष्ट प्रदर्शन गरिरहेको छ। नितिन कक्कडको निर्देशन तथा विशेष भट्टको निर्माणमा बनेको यस एक्सन-थ्रिलर फिल्मले रिलिजको पहिलो दिन नै दोहोरो अंकमा कमाइ गर्दै शानदार शुरुवात गरेको थियो। फिल्ममा इमरान हाशमीसँगै दिशा पटानी र शबाना आजमीले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्।
सैकनिल्कको प्रारम्भिक तथ्यांकअनुसार, फिल्मले पहिलो दिन २२ करोड़ रुपियाँ नेट कलेक्सन गरेको थियो। दोस्रो दिन अर्थात् शनिबार फिल्मको कमाईमा उल्लेखनीय वृद्धि हुँदै ३३.७५ करोड़ रुपियाँ पुगेको थियो। त्यस्तै, तेस्रो दिन आइतबार ‘आवारापन २’ ले करिब २६ करोड़ रुपियाँ कमाएको छ। यससँगै तीन दिनमा फिल्मको घरेलु नेट कलेक्सन ८१.७५ करोड़ रुपियाँ पुगेको छ।
दोस्रो दिनको तुलनामा तेस्रो दिन कमाईमा केही गिरावट आए पनि फिल्मको समग्र प्रदर्शन बलियो रहेको छ। यही गतिमा कमाई जारी रहे फिल्म छिट्टै १०० करोड़ रुपियाँको क्लबमा प्रवेश गर्ने अपेक्षा गरिएको छ।
विदेशी बजारमा पनि फिल्मको प्रदर्शन उत्साहजनक रहेको छ। तेस्रो दिन विदेशबाट करिब ४ करोड़ रुपियाँ कमाईसँगै फिल्मको कुल विदेशी कलेक्सन १२ करोड़ रुपियाँ पुगेको छ।
सन् २००७ मा रिलिज भएको इमरान हाशमीको फिल्म ‘आवारापन’ को यस सिक्वेललाई दर्शकबाट राम्रो प्रतिक्रिया प्राप्त भइरहेको छ। फिल्मको सफलतापछि निर्माताहरूले यसको तेस्रो किस्ताको समेत घोषणा गरेका छन्। यससँगै शिवम पण्डितको कथालाई अगाडि बढाउने तयारी शुरु भएको छ।
हिन्दुस्थान समाचार / बिशाल