
अबुधाबी/वासिङ्टन, १९ अगस्त (हि.स.)। संयुक्त अरब इमिरेट्स (यूएई) ले इरानको ब्यालिस्टिक मिसाइल हमलापछि ठूलो कदम उठाउँदै तत्काल प्रभावबाट इरानसँग सबै प्रकारका व्यापार, वाणिज्यिक आदान-प्रदान तथा वित्तीय कारोबारमा रोक लगाएको छ। क्षेत्रमा बढ्दो अस्थिरता तथा क्षेत्रीय एवं अन्तरराष्ट्रिय शान्ति र सुरक्षामाथि बढ्दै गएको खतरालाई ध्यानमा राख्दै यूएईले यस्तो निर्णय गरेको हो।
यूएई विदेश मन्त्रालयको रणनीतिक सञ्चार विभागकी निर्देशक अफरा अल हमेलीले उक्त निर्णयको घोषणा गर्दै यी प्रतिबन्ध अर्को सूचना जारी नभएसम्म लागू रहने बताइन्।
मध्यपूर्वमा तनाउ बढिरहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग कुनै वार्ता नभएको बताएका छन्। उनले होर्मुज जलडमरूमध्य अहिले अमेरिकी क्षेत्रअन्तर्गत रहेको पनि दाबी गरेका छन्।
गल्फ न्युजको रिपोर्टअनुसार, समुद्री नौवहनलाई लक्षित गर्दै इरानबाट प्रहार गरिएका दुई ब्यालिस्टिक मिसाइल समुद्रमा खसेपछि यूएईले इरानसँगका सबै गतिविधि, व्यापारिक तथा वित्तीय कारोबार अर्को आदेश नभएसम्म रोक्ने निर्णय गरेको हो।
यसैबीच अमेरिकी राष्ट्रपति ट्रम्पले इरानसँग वार्ताको कुनै योजना नरहेको बताएका छन्। सीमित समुद्री आवागमन र एउटा पानीजहाजमाथि भएको हमलाको खबर आए पनि होर्मुज जलडमरूमध्य खुल्ला र सञ्चालनमा रहेको उनले बताएका छन्।
ट्रम्पले उक्त जलमार्गलाई नयाँ अमेरिकी क्षेत्रका रूपमा चित्रित गरिएको एउटा तस्वीरसमेत सामाजिक सञ्जालमा पोस्ट गरेका छन्। इरानले भने होर्मुज जलडमरूमध्य पुनः खोल्नका लागि आफ्ना सर्तहरू दोहोर्याएको छ। कतारको विदेश मन्त्रालयले व्यापक अमेरिका-इरान वार्ता पुनः शुरु हुनुअघि मध्यस्थकर्ताहरूले होर्मुज विषयमा इरान र ओमानबीच द्विपक्षीय सम्झौताको प्रतीक्षा गरिरहेको जनाएको छ।
यूएई विदेश मन्त्रालयकी रणनीतिक सञ्चार विभागकी निर्देशक अफरा अल हमेलीले आर्थिक सम्बन्धका विषयमा इरानले लगाएका सबै आरोप अस्वीकार गरेको बताइन्। उनले क्षेत्रीय शान्ति, स्थिरता र समृद्धि प्रवर्द्धन गर्न संवाद, सहकार्य तथा क्षेत्रीय एकीकरणप्रति यूएईको प्रतिबद्धता दोहोर्याइन्।
अल हमेलीले क्षेत्रीय तथा अन्तरराष्ट्रिय शान्ति र सुरक्षाका लागि खतरा उत्पन्न गर्ने गरी बढिरहेको क्षेत्रीय तनाउलाई ध्यानमा राख्दै इरानसँग सबै प्रकारका व्यापार, वाणिज्यिक कारोबार तथा वित्तीय लेनदेनमा रोक लगाइएको बताइन्। यी उपाय अर्को आदेश नभएसम्म लागू रहनेछन्।
यसैबीच संयुक्त अरब इमिरेट्सले आफ्ना नागरिकलाई केवल सरकारी स्रोतबाट प्राप्त आधिकारिक सूचनामाथि मात्र विश्वास गर्न आग्रह गरेको छ। यूएईको वायु रक्षा प्रणालीले इरानबाट यूएईतर्फ प्रहार गरिएका दुई ब्यालिस्टिक मिसाइल पत्ता लगाएको रक्षा मन्त्रालयले जनाएको छ।
रक्षा मन्त्रालयका अनुसार, प्रारम्भिक अनुसन्धानबाट ती मिसाइल समुद्री नौवहनलाई लक्षित गरिएको देखिएको छ। एउटा मिसाइल यूएईको समुद्री सीमाबाहिर समुद्रमा खसेको थियो भने अर्को यूएईको समुद्री सीमाभित्र खसेको थियो। मन्त्रालयले यसबाट कुनै क्षति वा प्रभाव नपरेको स्पष्ट पारेको छ।
रक्षा मन्त्रालयले यूएईलाई उच्च सतर्कतामा राखिएको जनाएको छ। देशको सुरक्षा वा समुद्री नौवहनलाई लक्षित गर्ने कुनै पनि खतराको सामना गर्न सुरक्षा संयन्त्र पूर्ण रूपमा तयार रहेको मन्त्रालयले बताएको छ।
हिन्दुस्थान समाचार / बिशाल