
निर्देशक सन्दीप रेड्डी वांगाको बहुप्रतीक्षित फिल्म ‘स्पिरिट’ बाट दीपिका पादुकोण बाहिरिएको विवाद फेरि एकपटक चर्चामा आएको छ। निर्देशकका भाई तथा फिल्मसँग जोडिएका निर्माता प्रणय रेड्डी वांगाले यस विषयमा नयाँ दाबी गरेका छन्। अहिलेसम्म दीपिका फिल्मबाट अलग हुनुको कारण ८ घण्टाको शूटिङ सिफ्टसम्बन्धी सर्तलाई मानिँदै आएको थियो। तर प्रणयका अनुसार, वास्तविक मतभेद पारिश्रमिक र फिल्मको नाफामा हिस्सेदारीलाई लिएर भएको थियो। उनले सन्दीपले करिब १८ महिनादेखि दीपिकासँग फिल्मका विषयमा कुराकानी गरिरहेको र उनलाई यस परियोजनाको हिस्सा बनाउन निकै उत्सुक रहेको दाबी गरेका छन्।
हालै दिइएको एक अन्तर्वार्तामा प्रणयले दीपिकाले फिल्मको नाफामा १० प्रतिशत हिस्सेदारी मागेको दाबी गरेका छन्। उनका अनुसार, त्यसपछि कुराकानी अगाडि बढ्न सकेन र टोलीले अन्य विकल्प खोज्न शुरु गरेको थियो। प्रणयले विकल्पबारे विचार शुरु भएपछि फिल्मको कथा र पात्रसँग सम्बन्धित केही जानकारी लिक गरिएको आरोपसमेत लगाए। उनले अभिनेत्रीका साथ फिल्मको कथा र पात्रबारे भएको कुराकानी निजी तथा गोप्य रहेको र यस प्रकारको जानकारी सार्वजनिक भएपछि टोली निकै असन्तुष्ट भएको बताए।
प्रणयले विवाद केवल ५-६ करोड़ रुपियाँ अतिरिक्त पारिश्रमिकको मागसँग सम्बन्धित नभएको पनि स्पष्ट पारे। यसअघि दीपिकाको ८ घण्टाको कार्य अवधिसम्बन्धी कथित सर्तलाई लिएर पनि निकै चर्चा भएको थियो। सन्दीप रेड्डी वांगाले पनि सामाजिक सञ्जालमा कसैको नाम नलिई कलाकार तथा फिल्मसँग सम्बन्धित गोप्य जानकारी सार्वजनिक गरिएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए।
विवादका बीच दीपिका फिल्मबाट अलग भएपछि निर्माताहरूले तृप्ति डिमरीलाई फिल्ममा मुख्य भूमिकाका लागि छनोट गरेका छन्। यद्यपि, दीपिकाको तर्फबाट यी नयाँ आरोपबारे हालसम्म कुनै आधिकारिक प्रतिक्रिया सार्वजनिक भएको छैन।
हिन्दुस्थान समाचार / बिशाल