
काठमाडौं, २५ अगस्त (हि.स.)। नेपालका प्रधानमन्त्री बालेन्द्र शाहलाई संसदमा कालो चस्मा लगाएर उपस्थित हुन रोक लगाइएको छ। उनले स्वास्थ्य परीक्षण प्रतिवेदनसहित कालो चस्मा लगाउन आवश्यक रहेको भन्दै लिखित अनुरोध गरेका छन्।
प्रधानमन्त्री शाहको स्वास्थ्य परीक्षण प्रतिवेदनसहितको पत्र संघीय संसद् सचिवालयमा प्राप्त भएको संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीले पुष्टि गरेका छन्।
यसअघि प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले प्रमुख सचेतक तथा सचेतकमार्फत सांसदहरूलाई सदनमा कालो चस्मा नलगाउन निर्देशन दिएका थिए। संसद्को गरिमा र मर्यादासँग जोडिएको विषय भन्दै सांसदहरूले प्रधानमन्त्री शाह सदनमा कालो चस्मा लगाएर उपस्थित हुने गरेकोप्रति आलोचना गरेका थिए।
त्यसपछि सभामुखले सबै दलका प्रमुख सचेतकहरूलाई बोलाएर आफ्ना-आफ्ना पार्टीका सांसद तथा मन्त्रीहरूलाई सदनको बैठकमा कालो चस्मा लगाएर उपस्थित हुन प्रतिबन्ध लगाइएको जानकारी दिएका थिए।
सभामुखको निर्देशनमा स्वास्थ्यसम्बन्धी कारणले कुनै सांसदलाई कालो चस्मा लगाउन आवश्यक भए स्वास्थ्य परीक्षण प्रतिवेदन पेश गर्नुपर्ने स्पष्ट गरिएको थियो। सोही व्यवस्थाअनुसार प्रधानमन्त्री शाहको तर्फबाट स्वास्थ्य परीक्षण प्रतिवेदनसहितको पत्र संसद् सचिवालयमा पठाइएको हो।
बुधबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम आयोजना हुँदैछ। उक्त कार्यक्रममा ११ जना सांसदले प्रधानमन्त्री शाहसँग प्रत्यक्ष प्रश्न गर्नेछन्।
यसअघि प्रधानमन्त्री शाहले सदनको बैठकमा सहभागिता जनाउँदा प्रायः कालो चस्मा लगाएको देखिन्थ्यो। शपथग्रहण, पदभार ग्रहणदेखि विदेशी कूटनीतिज्ञहरूसँगको भेटवार्तासम्म उनी कालो चस्मामै देखिँदै आएका छन्।
हिन्दुस्थान समाचार / बिशाल