रम्फूमा निर्यात प्रवर्द्धन तथा ई-कमर्स २०२६ सम्बन्धी राष्ट्रिय सेमिनार सम्पन्न
रम्फूमा निर्यात प्रवर्द्धन तथा ई-कमर्स २०२६ सम्बन्धी राष्ट्रिय सेमिनार सम्पन्न


पाकिम, 27 अगस्त (हि.स.)। भारत सरकारको सूक्ष्म, लघु तथा मध्यम उद्यम मन्त्रालयअन्तर्गत गान्तोकस्थित एमएसएमई विकास तथा सुविधा कार्यालयको आयोजनामा आज रम्फूस्थित स्थानीय रिसोर्टमा ‘निर्यात प्रवर्द्धन तथा ई-कमर्स २०२६’ सम्बन्धी राष्ट्रिय सेमिनार सम्पन्न भयो। कार्यक्रमको आयोजना विदेश व्यापार महानिर्देशनालय तथा अन्य सरोकारवाला संस्थाहरूको सहकार्यमा गरिएको थियो।

सेमिनारको उद्देश्य सिक्किमका सूक्ष्म, लघु तथा मध्यम उद्यमहरूलाई निर्यातका अवसर, ई-कमर्स प्लेटफर्म, बजारसँगको पहुँच तथा संस्थागत सहयोगबारे जानकारी गराउँदै स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय बजारसम्म पुर्‍याउन सहयोग गर्नु रहेको बताइएको छ।

कार्यक्रममा पाकिमकी जिल्लापाल परी बिष्णोई मुख्य अतिथि थिइन्। उनले स्थानीय उद्यमी तथा कारीगरका लागि बजार पहुँच सुधार गर्न र उद्यमशीलताको वातावरणलाई थप सुदृढ़ बनाउनुपर्ने आवश्यकतामा जोड दिइन्। उनले सिक्किमका परम्परागत तथा स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ई-कमर्स तथा निर्यात माध्यममा ठूलो सम्भावना रहेको बताइन्।

गान्तोकस्थित एमएसएमई-डीएफओका सहायक निर्देशक तथा कार्यालय प्रमुख एन. चौधरीले सेमिनारका उद्देश्यबारे जानकारी दिँदै एमएसएमईहरूलाई निर्यात प्रक्रिया बुझ्न, बजारका अवसर पहिचान गर्न तथा डिजिटल वाणिज्य अपनाउन संस्थागत समन्वय आवश्यक रहेको बताए। कोलकाताका सहायक डीजीएफटी मनोज सिंहले अन्तरराष्ट्रिय बजारमा प्रवेश गर्न आवश्यक निर्यात सहजीकरण, प्रक्रिया तथा अनुपालनसम्बन्धी जानकारी दिए।

सिक्किम किसान कल्याण बोर्डका अध्यक्ष पदमप्रसाद शर्माले किसान तथा उत्पादकहरूका लागि बजारसँगको पहुँच सुदृढ़ गर्नुपर्ने र कृषि उत्पादनमा मूल्य अभिवृद्धिलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए। गान्तोकस्थित स्पाइसेस बोर्डका उपनिर्देशक पीटी लेप्चाले मसला उत्पादक, प्रशोधक तथा निर्यातकर्ताका लागि उपलब्ध निर्यात प्रवर्द्धनका पहल तथा अवसरबारे जानकारी दिए‌।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande