
युक्सम, २८ अगस्त (हि.स.)। पाङ ल्हाबसोलको पावन अवसरमा पर्यटन तथा नागरिक उड्डयन एवं वाणिज्य तथा उद्योगमन्त्री छिरिङ टी. भोटिया आज ऐतिहासिक नोर्बुगाङ स्थल, युक्सममा आयोजित वार्षिक रिवोसाङ धार्मिक अनुष्ठान तथा प्रार्थना समारोहमा सहभागी भए। कार्यक्रममा मन्त्री भोटियाले सिक्किम र यहाँका जनताको सुरक्षा, समृद्धि तथा कल्याणका लागि प्रार्थना अर्पण गरे।
नोर्बुगाङमा प्रत्येक वर्ष आयोजना गरिने रिवोसाङ अनुष्ठान सिक्किमका रक्षक देवताको रूपमा श्रद्धापूर्वक मानिने खाङ्चेनजोङ्गा पर्वतप्रति समर्पित विशेष प्रार्थना समारोह हो।
पाङ ल्हाबसोललाई नेयसलका नामले पनि चिनिन्छ। यो सिक्किमको विशिष्ट पर्व हो, जसले खाङ्चेनजोङ्गा पर्वतलाई राज्यको रक्षक देवताको रूपमा प्रतिष्ठित गरिएको ऐतिहासिक घटनाको स्मरण गर्दछ। यो पर्वले सिक्किमका जनताबीचको एकता, शान्ति, सद्भाव र भ्रातृत्वको भावनालाई प्रतिबिम्बित गर्दछ।
रिवोसाङ समारोहमा बौद्ध भिक्षुहरूले पवित्र रिवोसाङ प्रार्थना पाठ गरेका थिए भने लेप्चा पुजारीहरूले पनि परम्परागत विधिअनुसार खाङ्चेनजोङ्गाप्रति प्रार्थना तथा पूजा अर्पण गरेका थिए।
यस अवसरमा मन्त्री भोटियाले सिक्किमवासीलाई पाङ ल्हाबसोलको हार्दिक शुभकामना तथा मंगलमय अभिवादन व्यक्त गरे।
हरेक वर्ष पेमायाङ्त्से गुम्बाका भिक्षुहरू स्थानीय श्रद्धालुसहित डाब्लागाङ, जोङ्ग्रीसम्म तीर्थयात्रा गर्दै खाङ्चेनजोङ्गा पर्वतप्रति विशेष प्रार्थना अर्पण गर्ने गर्छन्। यस वर्ष पनि पाङ ल्हाबसोलको अवसरमा पेमायाङ्त्से गुम्बाका भिक्षुहरू तथा स्थानीय श्रद्धालुहरूले सिक्किम सरकारको वन तथा वातावरण विभागअन्तर्गत खाङ्चेनजोङ्गा राष्ट्रिय निकुञ्ज डिभिजनको सहयोगमा जोङ्ग्रीमा विशेष प्रार्थना तथा रिवोसाङ अनुष्ठान सम्पन्न गरिएको छ।
हिन्दुस्थान समाचार / बिशाल