नेपाल: भोटेकोशी-त्रिशूली बाढीपछि करिब ५ हजार मानिस सम्पर्कविहीन भएको आशंका
नुवाकोट स्थित एक हाइड्रोपावर प्रोजेक्ट


काठमाडौं, २९ अगस्त (हि.स.)। नेपालमा भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीको तेस्रो दिनसम्म पनि आपदाबाट कति मानिस प्रभावित भए र कति बेपत्ता छन् भन्ने यकिन हुन सकेको छैन। यद्यपि, सरकारको प्रारम्भिक प्राविधिक आकलनअनुसार बाढीपछि करिब ५ हजार मानिस सम्पर्कविहीन रहेको आशंका गरिएको छ।

गृह मन्त्रालयका एक अधिकारीका अनुसार, बाढी आउनुअघि रसुवाको गोसाइँकुण्डदेखि नुवाकोटको देवीघाट क्षेत्रसम्म करिब ५ हजार मोबाइल प्रयोगकर्ता सक्रिय थिए। तर बाढीपछि उनीहरूसँग सम्पर्क हुन सकेको छैन। नेपालका दुई प्रमुख दूरसञ्चार कम्पनी नेपाल टेलिकम र एनसेलबाट प्राप्त तथ्यांकका आधारमा यस्तो प्रारम्भिक आकलन गरिएको हो।

राष्ट्रिय आपदा जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको विवरणअनुसार, हालसम्म १ हजार ९२४ जना सम्पर्कविहीन भएको जानकारी प्राप्त भएको छ। तीमध्ये ९३३ जना जलविद्युत् आयोजनामा कार्यरत कर्मचारी रहेका छन्।

बाढी र पैह्रोपछि सम्पर्कविहीन विदेशी नागरिकको संख्या पनि करिब ५१७ रहेको बताइएको छ। यद्यपि, यस सम्बन्धमा पनि यकिन विवरण आउन बाँकी रहेको अधिकारीहरूले बताएका छन्। नेपाल सरकारले शुक्रबार साँझसम्म बेपत्ता वा सम्पर्कविहीन व्यक्तिका सम्बन्धमा करिब २ हजार निवेदन प्राप्त गरिसकेको थियो।

सम्पर्कविहीन हुनेमा रसुवा र नुवाकोटका स्थानीय बासिन्दाका साथै गोसाइँकुण्ड भ्रमणका लागि पुगेका पर्यटकहरू पनि रहेका छन्। प्रभावित क्षेत्रमा सञ्चार सेवा अवरुद्ध हुनुका साथै कठिन भौगोलिक अवस्थाका कारण बेपत्ता व्यक्तिहरूको पूर्ण विवरण संकलन गर्न कठिनाइ भइरहेको अधिकारीहरूको भनाइ छ।

सरकार तथा सुरक्षा निकायले प्रभावित क्षेत्रमा खोजी तथा उद्धार अभियान सञ्चालन गरिरहेका छन्। सम्पर्कविहीन व्यक्तिहरूको खोजी गर्ने, प्रभावित क्षेत्रमा आवागमन तथा सञ्चार व्यवस्था पुनःस्थापित गर्ने र बाढीमा फसेका मानिसलाई सुरक्षित स्थानमा पुर्‍याउने कार्यलाई सरकारले प्राथमिकतामा राखेको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande