अब भागोप्रमो पार्टी कसैको भरमा होइन, तर आफ्नै खुट्टामा उभिनेछ: अनित थापा
अनित थापा


खरसाङ, 30 अगस्त (हि.स.)। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा (भागोप्रमो) को केन्द्रिय संस्थापक अध्यक्ष एवं पूर्व जीटीए प्रमुख अनित थापाले अब भागोप्रमो कसैको भरमा होइन, तर आफ्नै खुट्टामा उभिनेछ भनी बताएका छन्। उनले भविष्यमा हुने चुनाउ जित्ने र निश्चित रूपमा सत्तामा फर्किने दाबी गरेका छन्। उनी आज खरसाङमा आयोजित भागोप्रमोको 28 नम्बर खरसाङ चिम्नी देउराली समष्टि र 29 नम्बर खरसाङ गिद्ध पहाड समष्टिलाई लिएर सांगठनिक सभामा प्रमुख अतिथिको रुपमा बोल्दै थिए।

थापाले भने, 'भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा पार्टी अहिले पनि बलियो स्थितिमा छ। यसको राप अझैं धेरै छ। अब म आफै बसेर पार्टीको धरातल बलियो बनाउन काम गर्नेछु र पार्टीको पुनर्गठन गरेर लानेछु। चुनाउपछि धेरैले पार्टी छोडेर गए, तर धेरैले फेरि फर्केर आउने इच्छा गर्दै फोन गरिरहेका छन्। केही दिनमा सबैले देख्नेछन्।'

अनित थापाले व्यंगात्मक शैलीमा बोल्दै भने, 'अहिले खरसाङ बजार एकदम सफा छ, मैला कतै छैन, सबैले वेतन पाइरहेका छन्। हामी हुँदा सानो कुरामा पनि गनगन हुने, तर अहिले सबैले अनुभव गरिरहेका छन्। जनता कोही पनि खुशी छैनन्। जनताले बुझिसकेका छन्। खरसाङमा गोर्खाहरुले राज गर्न सकेको छैन अहिले। हामीले चाहेको गोर्खाले राज गर्नुपर्छ। मान्छेहरु हालमा खुशी छैनन्। भन्न मात्र सकेका छैनन्।'

थापाले अघि भने, 'हामीले हारेर सत्ता छोडेका होइनौं, तर गोर्खाल्याण्डको लागि सत्ता छोडिदिएका हौं। अहिले पहाडमा कसैको सत्ता छैन।' उनले भने, 'सांसदले पनि आफ्नो काम गरिदिएको हो। तर माग्नेहरुले ठीकसितले माग्नु नसकेको मात्र हो।'

खरसाङको पार्क लोकेशनस्थित सार्वजनिक भवनमा सम्पन्न भएको सांगठनिक सभाको अध्यक्षता 28 नम्बर खरसाङ चिमनी देवराली समष्टि सभापति एवं पूर्व सभासद श्याम शेर्पाले गरेको थियो। सभालाई खरसाङ महकुमा समितिको सभापति एवं पूर्व सभासद प्रमाण रसाइली, 29 नम्बर खरसाङ गिद्ध पहाड समष्टिको सभापति प्रेमेन्द्र गुरुङ, खरसाङ टाउन कमिटी नारी शक्तिकी सभापति देवकी सुब्बा र सभाध्यक्ष पूर्व सभासद श्याम शेर्पाले पनि सम्बोधन गरेका थिए।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande