सप्ताहव्यापी नेपाली भाषा मान्यता दिवस समारोह सम्पन्न, विभिन्न क्षेत्रमा योगदान दिने व्यक्तित्वहरु सम्मानित
सप्ताहव्यापी नेपाली भाषा मान्यता दिवस समारोह सम्पन्न : भाषा साहित्य र विभिन्न क्षेत्रमा योगदान दिने व्यक्तित्वहरु सम्मानित


खरसाङ, 30 अगस्त (हि.स.)। गोर्खा जनपुस्तकालय खरसाङ, प्रज्ञा साझा मञ्च र सूचना अनि सांस्कृतिक विभाग, जीटीए खरसाङको संयुक्त आयोजनामा सप्ताहव्यापी नेपाली भाषा मान्यता दिवस समारोह सम्पन्न भएको छ। खरसाङको नयाँ बजारस्थित सार्वजनिक भवनमा आयोजित उक्त कार्यक्रमको अध्यक्षता समारोह आयोजक समितिका सभापति प्रकाश प्रधानले गरेको थियो। कार्यक्रममा खरसाङका विधायक सोनाम लामा प्रमुख अतिथि थिए।

कार्यक्रममा गोर्खा जनपुस्तकालय खरसाङको तर्फबाट भाषा संग्रामीहरु, शैक्षिक पुरस्कार र उपलब्धि हासिल गर्ने व्यक्तिहरुलाई सम्मानित गरियो। यस क्रममा राजु प्रधान 'हिमांशु', डा योगेस खाती, डा वासुदेव पुलामी, निरङ्कर थापा र डा साङ्मु लेप्चालाई सम्मान जनाइएको छ।

यसैगरी, भाषा संग्रामी बसन्तराज दियाली, डा लक्खीदेवी सुन्दास मरणोपरान्त र चन्द्र शर्मा, कालेबुङका देवाशिष मोथे र घुम्ती चियाबारी निवासी सूर्यनारायण प्रधानलाई पनि सम्मान जनाइयो।

कार्यक्रममा नेपाली भाषा मान्यता विषयमा डा जीवन नामदुङले बोल्दै भाषा आन्दोलनको एपी सेन्टर देहरादून भनेर सबैले मान्छन्, तर वास्तवमा एपी सेन्टर दार्जिलिङ रहेको बताए। उनले भने, 'हामीले आनन्दसिंह थापालाई मात्र सम्झेर हुँदैन। तर, आफ्नै ठाउँको इतिहास बुझ्नुपर्छ। 20 अगस्त, 1950 सालमा नै फमबहादुर छेत्रीले पत्राचार गरेका थिए। यस कार्यलाई कथाकार परशुराम रोकाले सराहना गरेका थिए।'

डा जीवन नामदुङले आनन्दसिंह थापाभन्दा अघि सानुमति राई र महानन्द पौड्यालले नेपाली भाषा विषयमा पत्राचार गरेका थिए भनी बताए। उनले 1974 सालमा सरकारको अनुमतिबिना नै वीरबहादुर ठकुरीले राजनीति शास्त्रमा नेपाली भाषामा परीक्षा दिए, जो अहिले पनि जीवित छन् र उनलाई बोलाएर सम्मान गरिनु पर्ने बताए। उनले नेपाली भाषाको लागि चारजना महिलाहरु क्रमैले विष्णु गुरुङ, चन्द्रमीत लक्सम, पुष्प नेपाली र सावित्रीले पैदल यात्रा गरेको पनि जानकारी गराए।

कार्यक्रमका प्रमुख अतिथि विधायक लामाले आफ्नो सम्बोधनमा गोर्खा जनपुस्तकालय खरसाङको तर्फबाट नेपाली भाषाको प्रयोग विषयमा दिइएको ज्ञापन पत्रको उल्लेख गर्दै गोर्खा जनपुस्तकालय खरसाङको ज्ञापन आफ्नो लागि नौलो भएको बताए। उनले नेपाली भाषा मान्यता दिवसको अवसरमा सबैलाई शुभकामना व्यक्त गर्दै उपस्थित सबैलाई धन्यवाद दिएका छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande