
खरसाङ, 30 अगस्त (हि.स.)। गोर्खा जनपुस्तकालय, प्रज्ञा साझा मञ्च र सूचना अनि सांस्कृतिक विभाग, जीटीए खरसाङको संयुक्त आयोजनामा सम्पन्न नेपाली भाषा मान्यता दिवस समारोहको अवसरमा अन्तर विद्यालय स्वरचित कविता प्रतियोगिता सम्पन्न भएको छ। उक्त अन्तर विद्यालय स्वरचित कविता प्रतियोगितामा प्रथम भिक्टोरिया बोइस स्कूलका सुशान्त राई, दोस्रो सन्त जोसेफ कन्या विद्यालयकी हुङ्सा राई र तेस्रो सन्त अल्फन्सेस विद्यालयका नोर्देन तामाङ भएका छन्।
यस अन्तर विद्यालय स्वरचित कविता प्रतियोगितामा निर्णायकका रुपमा कविहरु बालकृष्ण थामी, हनोक थापा र आरती ठकुरी रहेका थिए। प्रतियोगिताका लागि खरसाङ बजारका जम्मा 10 वटा विद्यालयबाट 12 वटा कविता पठाइएका थिए। 12 वटा कविताहरु मध्ये 6 जनालाई कार्यक्रममा कविता वाचनको लागि चयन गरिएको थियो।
यसैगरी, फाइनलमा चारजनाले सहभागिता जनाएका थिए। प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो स्थान प्राप्त गर्ने विद्यार्थीहरूलाई क्रमश: 10 हजार, 7 हजार र 5 हजार साथै ट्रफी, प्रमाणपत्र र पुस्तक उपहार प्रदान गरियो। प्रतियोगितामा सहभागी बनेका विद्यार्थीहरुलाई पनि प्रमाणपत्र प्रदान गरिएको छ।
हिन्दुस्थान समाचार / हनोक