नेपालको बाढी प्रभावितहरूका लागि राहत सामग्री दान गर्न आह्वान
नेपालको बाढी प्रभावितहरूका लागि राहत सामग्री दान गर्न आह्वान


गान्तोक, 30 अगस्त (हि.स.)। नील तारा केयर्सले जर्नलिस्ट युनियन अफ सिक्किमको सहकार्यमा नेपालको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढी प्रभावितहरूका लागि राहत जुटाउने अभियान शुरू गरेको छ। बाढी प्रभावित बालबालिकाहरूलाई विशेष ध्यानमा राखेर शुरू गरिएको यस अभियानलाई 'वानफरनेपाल रिलिफ ड्राइभ' नाम दिइएको छ।

दुवै संस्थाका प्रतिनिधिहरूले आज जर्नलिस्ट युनियन अफ सिक्किममा आयोजित एक पत्रकार सम्मेलनमा राहत अभियानबारे जानकारी दिए। राहत अभियान अन्तर्गत केवल राहत सामग्रीहरू सङ्कलन गरिने बताइएको छ नगद राशि स्वीकार गरिने छैन।

आपदापछि चलाइने राहत अभियानहरूमा विशेषगरी भोजन र लुगाफाटामा अधिक ध्यान दिइने गरेको देखिन्छ। यस विषयलाई ध्यानमा राख्दै साफ-सफाईसॅंग सम्बन्धित सामग्रीहरू र दैनिक जीवनमा चाहिने अत्यावश्यक सामग्रीहरू सङ्कलन गरिने बताइएको छ। विशेष रूपमा बालबालिकाहरूलाई चाहिने डायपर, स्यानिटरी प्याड, अन्डर गार्मेट, टुथपेस्ट ब्रस, मास्क, ओआरएस आदि जस्ता सामग्रीहरू दान गर्न आह्वान गरिएको छ।

इच्छुक व्यक्तिहरूले राजधानीको चर्च रोडस्थित नील तारा एकाडेमीमा सोमवारदेखि राहत सामग्रीहरू दान गर्न सक्नेछन्। सामग्रीहरू सङ्कलन गरेपछि संस्थाका प्रतिनिधिहरू स्वयं नेपालको बाढी प्रभावित क्षेत्रमा गएर सबैभन्दा खाँचोमा परेका प्रभावित मानिसहरूलाई राहत उपलब्ध गराउने बताइएको छ।

पत्रकार सम्मेलनमा नील तारा केयर्सका प्रतिनिधिहरू नुतन राई, समीर गुरुङ र वरुण सिंह तथा जर्नलिस्ट युनियन अफ सिक्किमबाट अध्यक्ष प्रवीण खालिङ र सल्लाहकार भीम राउत उपस्थित थिए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande