
खरसाङ, 04 जुलाई (हि.स.)। ट्राफिक सुरक्षा सप्ताह अन्तर्गत खरसाङमा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ। दार्जिलिङ पुलिसको आयोजनामा जिल्लाभरि 3 देखि 9 अगस्तसम्म ट्राफिक सुरक्षा सप्ताह पालन भइरहेको छ भने मंगलवार खरसाङमा ट्राफिक सुरक्षा सप्ताह एवं ट्राफिक सचेतना कार्यक्रम सम्पन्न गरियो।
कार्यक्रमको शुरुवात ट्राफिक सचेतना ऱ्यालीका साथ गरियो, जुन मोटर स्ट्याण्डदेखि शुरू भएर बजार परिक्रमा गरेपछि पुनः मोटर स्ट्याण्ड फर्किएपछि समाप्त भयो। पानी झरीका कारण ऱ्याली पूरा नभए पनि खरसाङको नयाँ बजारस्थित सार्वजनिक भवनमा ट्राफिक सुरक्षा विषयमा सचेतना कार्यक्रम सम्पन्न भयो।
उक्त सचेतना कार्यक्रममा दार्जिलिङ पुलिसका अतिरिक्त जिल्ला पुलिस अधिकारी आईपीएस अनिन्दया सुन्दर भट्टाचार्य, ट्राफिक डीएसपी कल्याण गुरुङ, खरसाङ महकुमा पुलिस अधिकारी आईपीएस हरदीप, ट्राफिक इन्स्पेक्टर पिन्टु मुखर्जी, दार्जिलिङ हिमालयन रेलवेका निर्देशक रिसभ चौधरी, आईसी खरसाङ पलास महन्तो, डीआईबी खरसाङ पासाङ तामाङ, खरसाङ ट्राफिक पुलिस प्रभारी विकास चामलिङ लगायत अन्यहरु उपस्थित रहेका थिए।
कार्यक्रममा ट्राफिक इन्स्पेक्टर पिन्टु मुखर्जीले ट्राफिक नियमहरूको बारेमा सचेत गर्दै विद्यार्थीहरुलाई घरमा गएर आफ्ना अभिभावकहरु र आफन्तहरुलाई ट्राफिक नियम पालन गर्न अनुरोध गर्न आह्वान् गरे। उनले ट्राफिक सुरक्षाको लागि सबैलाई ट्राफिक नियमहरु पालना गर्न र सुरक्षित रहन आह्वान् गरे।
कार्यक्रममा रोड सुरक्षा सप्ताह र ट्राफिक सुरक्षा विषयमा खरसाङ महकुमा पुलिस अधिकारी आईपीएस हरदीप, ट्राफिक इन्स्पेक्टर पिन्टु मुखर्जी, दार्जिलिङ हिमालयन रेलवेको निर्देशक रिसभ चौधरी आदिले पनि वक्तव्य राखेका थिए।
यस अवसरमा ट्राफिक सुरक्षा विषयमा तीनधारेका कन्टेन्ट क्रियटर सञ्जय राई र साथीहरुका साथमा ट्राफिक पुलिसको सहभागितामा छोटो नाटक पनि मञ्चन गरिएको थियो।कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरु, शिक्षक शिक्षिकाहरु, विभिन्न सेन्डिकेटका चालकहरु र जनसाधारण पनि उपस्थित रहेका थिए।
हिन्दुस्थान समाचार / हनोक