हिन्दुस्थान समाचारको बहुभाषी मोडेल भारतीय भाषिक विविधताको शक्ति : मार्डीकर
भारतीय भाषा समागम में बोलते हिन्दुस्थान समाचार समूह के अध्यक्ष अरविंद भालचंद्र मार्डीकर।


भारतीय भाषा समागम में उपस्थित लोग।


- १५ भाषामा एकैसाथ समाचारको संसार, अब वैश्विक विस्तारको तयारी

वाराणसी, १३ सेप्टेम्बर (हि.स.)। भारतको भाषिक विविधतालाई पत्रकारिताको शक्तिमा रूपान्तरण गर्दै हिन्दुस्थान समाचारले बहुभाषी समाचार सेवाको विशिष्ट मोडेल प्रस्तुत गरेको छ। हिन्दुस्थान समाचार एकैसाथ १५ भाषामा समाचार उपलब्ध गराउने विश्वकै एकमात्र बहुभाषी न्यूज एजेन्सी हो। यो कुरा हिन्दुस्थान समाचार समूहका अध्यक्ष अरविन्द भालचन्द्र मार्डीकरले आइतबार महात्मा गान्धी काशी विद्यापीठको गान्धी अध्ययन पीठ सभागारमा हिन्दी दिवसको पूर्वसन्ध्यामा आयोजित भारतीय भाषा समागम-२०२६ मा भनेका हुन्।

हिन्दुस्थान समाचारद्वारा आयोजित ‘भारतीय ज्ञान परम्परा, क्षेत्रीय भाषाहरू र समृद्ध भारत’ विषयक समागममा अरविन्द मार्डीकरले संस्थाको स्थापनाको मूल उद्देश्य भारतका नागरिकसम्म उनीहरूकै भाषामा सही र सटीक सूचना पुर्‍याउनु रहेको बताए। स्वतन्त्रतापछि शुरु भएको यो यात्रा करिब आठ दशक लामो भइसकेको छ। हाल संस्थाले १४ भारतीय भाषा र अंग्रेजीसहित कुल १५ भाषामा समाचार उपलब्ध गराउँदै आएको छ।

उनले भारतजस्तो बहुभाषिक र बहुसांस्कृतिक देशमा एकैसाथ यति धेरै भाषामा समाचार उपलब्ध गराउनु केवल पत्रकारिताको उपलब्धि नभई भाषिक एकता र विविधताको समेत उदाहरण रहेको बताए।

भाषाहरूलाई साझा सूचना मञ्चसँग जोडियो

अरविन्द मार्डीकरले भारतीय भाषाहरू केवल बोलचाल र संवादका माध्यम मात्र नभएको बताए। यी भाषामा हजारौँ वर्षको ज्ञान परम्परा, संस्कृति, इतिहास र सामाजिक अनुभव समेटिएको छ। हिन्दुस्थान समाचारले यही विविधतालाई आफ्नो शक्ति बनाउँदै विभिन्न भाषामा समाचार उपलब्ध गराएर देशका विभिन्न भाषिक समुदायलाई साझा सूचना मञ्चसँग जोडेको उनले बताए।

उनले हिन्दुस्थान समाचारको स्थापना शिवराम शंकर आप्टेले स्वतन्त्र भारतका प्रत्येक नागरिकले आफ्नै भाषामा सही जानकारी पाउनुपर्छ भन्ने विचारका साथ गरेको बताए। स्वतन्त्रवीर विनायक दामोदर सावरकर संस्थाका प्रमुख प्रेरणास्रोतहरूमध्ये एक रहेको उनले उल्लेख गरे। मुम्बईबाट शुरु भएको यो यात्रा अहिले १५ भाषासम्म पुगेको छ।

टेलिप्रिन्टरदेखि डिजिटल संसारसम्मको यात्रा

हिन्दुस्थान समाचारको यात्राबारे उल्लेख गर्दै अरविन्द भालचन्द्र मार्डीकरले सन् १९६२ को चीन युद्धलगायत विभिन्न महत्वपूर्ण घटनाका क्रममा संस्थाले समाचार उपलब्ध गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए। देवनागरीमा टेलिप्रिन्टरको शुरुवात पनि संस्थाको प्रमुख उपलब्धिमध्ये एक रहेको उनले बताए। त्यसबेला सूचना प्रसारका माध्यम सीमित थिए र भारतीय भाषामा तीव्र गतिमा समाचार पुर्‍याउने दिशामा यो महत्वपूर्ण कदम थियो।

उनले आपतकालका क्रममा संस्थाले गम्भीर संकटको सामना गर्नुपरेको बताए। सन् १९७५ पछि संघर्ष बढ्यो र सन् १९८३ मा आर्थिक संकटका कारण संस्थामा रिसिभर राख्नु परेको थियो। त्यसका बावजुद कर्मचारी तथा सहयोगीहरूको संस्थाप्रतिको विश्वास कायम रह्यो। अदालतमा चलेको संघर्षपछि संस्थाले पुनः आफ्नो यात्रा शुरु गरेको उनले बताए।

देशदेखि विश्वसम्म विस्तारको तयारी

अरविन्द भालचन्द्र मार्डीकरले हिन्दुस्थान समाचार अब भारतमा मात्र सीमित रहन नचाहेको बताए। विश्वव्यापी स्तरमा आफ्नो उपस्थिति बलियो बनाउने दिशामा काम भइरहेको उनले जानकारी दिए। रुसी समाचार संस्थासँग सहकार्य शुरु भएको र जापानी समाचार संस्थासँग पनि वार्ता भइरहेको उनले बताए। ब्रिक्ससँग जोडिएका अवसरबाट पनि हिन्दुस्थान समाचारले लाभ पाउने अपेक्षा रहेको उनले उल्लेख गरे।

उनले समाचार संस्थाको लक्ष्य विश्वसनीय समाचार संस्थाका रूपमा आफ्नो भूमिकालाई अझ व्यापक बनाउनु रहेको बताए। राष्ट्रलाई सर्वोपरि राखेर र निजी स्वार्थभन्दा माथि उठेर पत्रकारिता गर्नु हिन्दुस्थान समाचारको मूल भावना रहेको उनको भनाइ थियो।

३५० भन्दा बढी समाचारपत्रसम्म पहुँच

अरविन्द भालचन्द्र मार्डीकरले आफ्नो सम्बोधनका क्रममा प्रसार भारती, दूरदर्शनलगायत विभिन्न प्रमुख संस्थाहरू हिन्दुस्थान समाचारका ग्राहक रहेको बताए। समाचार पोर्टल तथा करिब साढे तीन सय समाचारपत्रले पनि यसका समाचार प्रयोग गर्ने गरेको उनले जानकारी दिए। समाचार सेवासँगै डिजिटल क्षेत्रमा पनि संस्थाले आफ्नो उपस्थिति बलियो बनाएको उनले बताए।

हिन्दी भाषामा भारतीय संस्कृतिलाई समर्पित मासिक पत्रिका ‘नवोत्थान’ तथा समसामयिक विषयमा केन्द्रित पाक्षिक पत्रिका ‘युगवार्ता’ पनि प्रकाशित हुँदै आएका छन्। यी प्रकाशनमार्फत भारतीय संस्कृति, समसामयिक घटना तथा विचारलाई व्यापक पाठक वर्गसम्म पुर्‍याउने प्रयास भइरहेको उनले बताए।

राजनीति र अपराधभन्दा बाहिर पनि पत्रकारिताको दायरा विस्तार होस्

अरविन्द मार्डीकरले पत्रकारिताको दायरा अझ व्यापक बनाउन आह्वान गरे। उनले राजनीति र अपराधबाहेक समाजमा शिक्षा, संस्कृति, सामाजिक कार्य, नवप्रवर्तन, कला तथा विकाससँग सम्बन्धित धेरै सकारात्मक गतिविधि भइरहेको बताए। यस्ता समाचारलाई पनि प्राथमिकताका साथ सार्वजनिक गरिनुपर्ने उनको भनाइ थियो।

युवा पुस्तालाई भारतको इतिहास र ज्ञान परम्परासँग जोड्नुपर्नेमा जोड दिँदै उनले युवालाई इतिहासबारे जानकारी गराउनुका साथै उनीहरूबाट नयाँ जानकारी लिनुपर्ने र त्यसलाई समाजसम्म पुर्‍याउनुपर्ने बताए।

अरविन्द भालचन्द्र मार्डीकरले हिन्दुस्थान समाचारका स्थानीय कार्यालयसँग जोडिन सर्वसाधारणलाई अपील गर्दै समाजमा कुनै सकारात्मक तथा महत्वपूर्ण काम भइरहेको भए त्यसको जानकारी स्थानीय कार्यालयलाई दिन आग्रह गरे। त्यस्ता समाचारलाई सम्बन्धित व्यक्तिको नामसहित व्यापक मञ्चसम्म पुर्‍याउने प्रयास गरिने उनले बताए।

उनले हिन्दुस्थान समाचारले अझ लामो यात्रा तय गर्न बाँकी रहेको बताए। लक्ष्य स्पष्ट रहेको र चुनौतीबारे पनि जानकारी रहेको उल्लेख गर्दै राष्ट्रलाई सर्वोपरि राखेर विश्वसनीय पत्रकारिताको यात्रा निरन्तर अघि बढ्ने विश्वास व्यक्त गरे।

काशीबाट विश्वका लागि भाषिक पत्रकारिताको सन्देश

उल्लेखनीय छ, भारतीय भाषा समागम-२०२६ मा हिन्दुस्थान समाचारको १५ भाषासम्म फैलिएको यात्रालाई भारतीय भाषिक विविधताको शक्तिका रूपमा प्रस्तुत गरियो। काशीबाट भाषा केवल पहिचानको माध्यम मात्र नभई ज्ञान, सूचना र विकासको शक्तिसमेत हो भन्ने सन्देश दिइएको छ।

भारतका भाषामा रहेको विशाल ज्ञान-सम्पदालाई आधुनिक प्रविधि र विश्वव्यापी सञ्चार माध्यमसँग जोडेर भारतीय भाषालाई विश्वको ज्ञान-विमर्शमा नयाँ स्थान दिलाउन सकिन्छ। हिन्दुस्थान समाचारको बहुभाषी मोडेल यही दिशामा भारतीय पत्रकारिताको एउटा विशिष्ट प्रयोगका रूपमा अघि आएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande