एससीओ रेट्सद्वारा इरानमाथि अमेरिकी आक्रमणको निन्दा, सैन्य कारबाहीको विरोध
एससीओ रैट्स  (फाइल फाेटाे)


इस्लामाबाद, १५ सेप्टेम्बर (हि.स.)। शंघाई सहयोग संगठन (एससीओ) को क्षेत्रीय आतङ्कवादविरोधी ढांचा (रेट्स) को परिषद्ले इरानविरुद्ध हालै भएका अमेरिकी सैन्य आक्रमणको निन्दा गरेको छ। संगठनले इरानविरुद्ध सैन्य कारबाहीको विरोध दोहोर्‍याउँदै क्षेत्रमा तनाव कम गर्न तथा शान्ति स्थापना गर्नुपर्ने आवश्यकतामा जोड दिएको छ।

टर्कीको सरकारी समाचार संस्था अनाडोलुका अनुसार, सोमबार इस्लामाबादमा आयोजित एससीओ रेट्स परिषद्को ४६औँ बैठकका क्रममा यस्तो धारणा सार्वजनिक भएको हो। बैठकको अध्यक्षता पाकिस्तानले गरेको थियो। बैठकमा बेलारुस, भारत, इरान, कजाकिस्तान, चीन, किर्गिस्तान, पाकिस्तान, रुस, ताजिकिस्तान र उज्बेकिस्तानका प्रतिनिधिमण्डलका साथै एससीओ रेट्सको कार्यकारी समितिका प्रतिनिधिहरूले सहभागिता जनाएका थिए।

पाकिस्तानको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार, बैठकमा क्षेत्रीय सुरक्षा तथा अन्तरराष्ट्रिय कार्यसूचीसँग सम्बन्धित वर्तमान विषयमा छलफल गरिएको थियो। परिषद्ले इरानविरुद्ध गरिएका नयाँ सैन्य आक्रमणको निन्दा गर्दै यस विषयमा एससीओले यसअघि व्यक्त गरेको आफ्नो धारणा दोहोर्‍याएको छ।

बैठकमा इरानका मारिएका सर्वोच्च नेता अली खामेनेई तथा अन्य मृतकका परिवारप्रति समवेदना व्यक्त गरिएको थियो। परिषद्ले इरानको सार्वभौमिकता, सुरक्षा तथा क्षेत्रीय अखण्डताको समर्थन गर्ने आफ्नो धारणा दोहोर्‍याएको छ।

एससीओ रेट्सले क्षेत्रमा तनाव कम गर्ने, शान्ति पुनःस्थापना गर्ने तथा स्थिरता सुनिश्चित गर्ने प्रयासलाई समर्थन गरेको छ। बैठकका क्रममा एससीओ रेट्स परिषद्को अध्यक्षता पाकिस्तानबाट रुसलाई हस्तान्तरण गरिएको छ।

समाचारअनुसार, अमेरिकाले यसै महिनाको शुरुवातमा इरानका सैन्य ठेगानाहरूमा नयाँ आक्रमण गरेको थियो। त्यसको जवाफमा इरानले क्षेत्रमा अमेरिकासँग सम्बन्धित ठेगानाहरूमा मिसाइल तथा ड्रोन आक्रमण गरेपछि क्षेत्रीय तनाव थप बढेको थियो।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande