इन्डोनेसियामा फेरी पल्टिँदा ६ जनाको मृत्यु, १३० जना बेपत्ता
इंडोनेशिया के जावा सागर में पलटा हुआ जहाज


जकार्ता, १५ सेप्टेम्बर (हि.स.)। इन्डोनेसियाको जावा सागरमा ‘वर्गो ट्रान्सपोर्ट ८’ नामक फेरी पल्टिँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ भने १३० जना अझै बेपत्ता रहेको बताइएको छ। दुर्घटनापछि ठूलो स्तरमा खोज तथा उद्धार अभियान जारी रहेको छ। अधिकारीहरूका अनुसार, हालसम्म १०७ जनालाई सकुशल उद्धार गरिएको छ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यम अल जजीरा न्युजले इन्डोनेसियाको खोज तथा उद्धार निकाय बासारनासलाई उद्धृत गर्दै जनाएअनुसार, फेरीमा कुल २४३ जना सवार थिए। उनीहरूमध्ये २१३ जना यात्रु र ३० जना चालक दलका सदस्य थिए। उक्त जहाज शनिबार जावा द्वीपको सुराबायाबाट प्रस्थान गरी बोर्नियो द्वीपको बन्दरगाह सहर बंजारमासिनतर्फ जाँदै थियो।

आइतबार बिहान फेरीको आफ्नो सञ्चालकसँग सम्पर्क विच्छेद भएको थियो। त्यसपछि अधिकारीहरूले तत्काल खोज तथा उद्धार अभियान शुरु गरे। इन्डोनेसियाको यातायात मन्त्रालयले पनि जहाज पल्टिएको पुष्टि गरेको छ।

बंजारमासिनस्थित स्थानीय खोज तथा उद्धार कार्यालयका प्रमुख आई पुतु सुदायानाका अनुसार, दुर्घटनाका बेला जहाजले खराब मौसमको सामना गरेको थियो। फेरीको अन्तिम ज्ञात स्थान जावा सागरमा बंजारमासिनबाट करिब ८१ समुद्री माइल अर्थात् १५० किलोमिटर टाढा रहेको बताइएको छ।

उद्धार अभियानमा जहाजका साथै हेलिकोप्टर पनि परिचालन गरिएको छ। यद्यपि समुद्रमा करिब २.५ मिटर अग्ला छाल उठिरहेका कारण राहत तथा उद्धार कार्यमा ठूलो बाधा पुगेको छ। अधिकारीहरूले समुद्रको अवस्था उद्धारमा खटिएका जहाजहरूका लागि समेत निकै जोखिमपूर्ण रहेको बताएका छन्।

अधिकारीहरूले फेरी पल्टिनुको निश्चित कारणबारे हालसम्म पुष्टि गरेका छैनन्। घटनाको अनुसन्धान भइरहेको छ। अनुसन्धानमा खराब मौसमका साथै सम्भावित प्राविधिक खराबीलगायत अन्य पक्षलाई पनि समेटिएको छ।

इन्डोनेसियामा समुद्री यातायात अत्यन्त महत्वपूर्ण मानिन्छ। करिब १७ हजार द्वीप रहेको यस देशमा ठूलो संख्यामा मानिस एक द्वीपबाट अर्को द्वीपमा आवतजावत गर्न फेरी सेवामा निर्भर छन्। हवाई यात्राको तुलनामा समुद्री यातायात तुलनात्मक रूपमा सस्तो र सहज रूपमा उपलब्ध हुने भएकाले यहाँ फेरीको व्यापक प्रयोग हुने गरेको छ।

पछिल्ला महिनाहरूमा पनि इन्डोनेसियामा थुप्रै समुद्री दुर्घटना भएका छन्। गत महिना बाली र लोम्बोकबीच सञ्चालन हुने एउटा फेरीमा आगलागी हुँदा एक जनाको मृत्यु भएको थियो भने पाँच जना बेपत्ता भएका थिए। जुलाईमा पनि सुलावेसीको दक्षिणमा सेलायार द्वीपनजिकै ७० भन्दा बढी मानिस सवार फेरी डुबेको थियो।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande