
नयाँ दिल्ली, १५ सेप्टेम्बर (हि.स.)। बिहारमा आएको विनाशकारी बाढ़ीका कारण भएको जनधनको क्षतिप्रति लोकसभामा विपक्षी दलका नेता राहुल गान्धी, कांग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गे र कांग्रेस महासचिव प्रियंका गान्धी वाड्राले दुःख व्यक्त गरेका छन्। उनीहरूले शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै सरकारलाई राहत तथा उद्धार कार्य तीव्र बनाउन आग्रह गरेका छन्।
लोकसभामा विपक्षी दलका नेता राहुल गान्धीले सामाजिक सञ्जालमा पोस्ट गरी भने, बिहारमा बाढ़ीका कारण भएको जनहानि अत्यन्त दुःखद र हृदयविदारक छ। विपत्तिमा आफ्ना प्रियजन गुमाएका परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै उनले यस त्रासदीबाट प्रभावित सबैप्रति सहानुभूति व्यक्त गरेका छन्। उनले कांग्रेस कार्यकर्तालाई अघि बढ़ेर प्रभावित मानिसहरूलाई हर सम्भव सहयोग गर्न अपील गरेका छन्।
राहुल गान्धीले सरकार र प्रशासनले पूर्ण तत्परताका साथ राहत तथा उद्धार कार्य सञ्चालन गर्दै प्रभावित परिवारसम्म आवश्यक सहायता यथाशीघ्र पुर्याउने अपेक्षा व्यक्त गरेका छन्।
कांग्रेसका राष्ट्रिय अध्यक्ष मल्लिकार्जुन खड्गेले बिहारमा बाढ़ीका कारण भएको जनहानिलाई अत्यन्त पीड़ादायी बताएका छन्। उनले शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै १५ जिल्लामा लगभग ५० लाख मानिस बाढ़ीबाट प्रभावित भएको र हजारौँ गाउँमा जनजीवन अस्तव्यस्त बनेको बताएका छन्।
खड्गेले संकटको यस घड़ीमा सरकारको प्राथमिकता प्रत्येक प्रभावित परिवारसम्म राहत तथा सहायता पुर्याउनु हुनुपर्ने बताए। उनले सरकार र प्रशासनलाई राहत, उद्धार, चिकित्सकीय सहायता तथा पुनर्वास कार्यमा कुनै कमी नराख्न र प्रभावित परिवारसम्म तत्काल सहायता पुर्याउन आग्रह गरेका छन्।
कांग्रेस अध्यक्षले पार्टीका सबै कार्यकर्तालाई समेत प्रभावित क्षेत्रमा पुगेर मानिसहरूलाई हर सम्भव सहयोग गर्न आह्वान गरेका छन्। उनले कठिन समयमा सम्पूर्ण देश बिहारका जनताको साथमा रहेको बताएका छन्।
कांग्रेस महासचिव प्रियंका गान्धी वाड्राले बिहारमा भयानक बाढ़ीका कारण भएको विनाशप्रति दुःख व्यक्त गरेकी छन्। उनले राज्यका लाखौँ मानिस बाढ़ीबाट प्रभावित भएको र ठूलो मात्रामा जनधनको क्षति भएको बताइन्। उनले दिवंगत आत्माको शान्तिको कामना गर्दै पीड़ित परिवारप्रति गहिरो समवेदना व्यक्त गरिन्।
प्रियंका गान्धीले प्रभावित मानिससम्म यथाशीघ्र सहायता पुर्याउन सरकारलाई राहत तथा उद्धार कार्य तीव्र बनाउन आग्रह गरेकी छन्।
हिन्दुस्थान समाचार / भवानी थामी