
गान्तोक, 15 सेप्टेम्बर (हि.स.)। सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ) पार्टीको गेजिङ जिल्ला समितिको मासिक बैठक सोमबार जिल्ला समितिका अध्यक्ष दिपेन गुरुङको अध्यक्षतामा सम्पन्न भएको छ। बैठकमा संगठन विस्तार र तृणमूल स्तरमा पार्टीलाई बलियो बनाउने रणनीतिमाथि छलफल भएको विज्ञप्तिमा उल्लेख छ।
बैठकले वार्ड र गाउँस्तरसम्म पार्टीको उपस्थिति बढाउने तथा नयाँ कार्यक्रमहरू प्रभावकारी रूपमा लागू गर्ने उपायहरू समीक्षा गरेको बताइएको छ। सदस्यहरूले सिक्किमको पुनर्निर्माण र संगठनात्मक रणनीतिमाथि गम्भीर छलफल गरेका थिए र हरेक निर्वाचन क्षेत्रमा पार्टीको लहर कायम राख्न आवश्यक कार्यहरूको सूची तयार पारेकाे बताइएको छ।
जिल्ला कार्यकारिणी समितिले सिक्किम र सिक्किमे जनताका अधिकार सुनिश्चित गर्न पार्टी पूर्ण रूपमा प्रतिबद्ध रहने र एसडीएफ कार्यकर्ताहरूले नागरिकका कठिनाइहरूलाई आफ्नो काँधमा लिएर जनतालाई संगठित बनाउनुपर्नेमा जोड दिएको छ। पवन चाम्लिङले सिक्किमे जनतालाई राजनीतिक र सामाजिक रूपमा टुहुरो बन्नबाट जोगाउन निरन्तर प्रयास गरिरहेको बताउँदै पार्टी कार्यकर्ताहरूले पनि जनताका संरक्षकको भूमिका निर्वाह गरी थप जिम्मेवारी बोक्नुपर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरिएको विज्ञप्तिमा उल्लेख छ।
बैठकमा उपाध्यक्ष कर्मा ओङचुक लेप्चा, चेली मोर्चा प्रभारी तथा उपाध्यक्ष मुनाहाङमा लिम्बू, युवा प्रभारी विशाल साम्पाङ, उपाध्यक्ष भीम माया राई, महासचिव रणकुमार लिम्बू लगायत अन्य जिल्ला समितिका सदस्यहरूको उपस्थिति रहेको थियो।
हिन्दुस्थान समाचार / बिशाल