सोनादा डिग्री कलेजको 41औँ स्थापना दिवस सम्पन्न, विधायक लामाद्वारा कलेजलाई 5 लाख रुपियाँ प्रदान गर्ने घोषणा
Sonada degree college


सोनादा, १४ सेप्टेम्बर (हि.स.)। सोनादा डिग्री कलेजको 41औँ स्थापना दिवस समारोह विविध सांस्कृतिक कार्यक्रम, सम्मान तथा सम्वर्द्धनाका साथ भव्य एवं गरिमामय रूपमा सम्पन्न भयो। समारोहका प्रमुख अतिथि क्षेत्रीय विधायक सोनाम लामाले कलेजको पूर्वाधार तथा शैक्षिक विकासका लागि आफ्नो विधायक कोषबाट 5 लाख रुपियाँ प्रदान गर्ने घोषणा गरे।

यसैगरी कलेजका भूमिदाता मिमानी परिवारका प्रतिनिधि दीपङ्कर मिमानीले कलेजका तीनजना विद्यार्थीलाई प्रत्येक वर्ष छात्रवृत्ति प्रदान गर्ने घोषणा गरे। कलेजका प्राचार्य डा. योगेश खातीको अध्यक्षता तथा विधायक सोनाम लामाको प्रमुख आतिथ्यमा आयोजित समारोहमा विधायकका धर्मपत्नी रञ्जना प्रधान, निरज थापा, कलेजका जमीनदाताका पक्षमा दिपङ्कर मिमानी आदि विशिष्ट अतिथिको रुपमा उपस्थित थिए।

कलेजका प्राचार्य डा. योगेश खातीले आफ्नो प्रतिवेदन तथा सम्बोधनमा कलेजले विगतदेखि वर्तमानसम्म हासिल गरेका शैक्षिक तथा अन्य उपलब्धि र प्रगतिबारे विस्तृत जानकारी गराए। उनले कलेजले अब विभिन्न नयाँ नयाँ योजनाहरु र सपनाहरु साकार गर्न प्रयासरत रहेकाले यसको लागि सबैलाई साथ र सहयोग गर्न निवेदन पनि गरे।

समारोहको एउटा महत्त्वपूर्ण पक्षका रूपमा कलेजका लागि भूमि उपलब्ध गराउने मिमानी परिवारका प्रतिनिधि दीपङ्कर मिमानीलाई विशेष सम्बर्द्धना जनाइयो। प्रमुख अतिथि तथा प्राचार्यले उनलाई स्मृति-चिह्न, शिरशोभा र दोसल्ला प्रदान गरी सम्मान गरे। मिमानीले सोनादा डिग्री कलेजसँग आफ्नो परिवारको सम्बन्ध भविष्यमा पनि कायम रहने बताउँदै कलेजको विकासका लागि थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले हरेक वर्ष कलेजका तीनजना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने घोषणा गरे।

समारोहमा उच्च शिक्षा तथा प्राज्ञिक क्षेत्रमा उपलब्धि हासिल गर्ने कलेजका शिक्षकहरूलाई पनि सम्मान गरियो। इतिहास विभागका डा. प्रमोद छेत्री र दर्शनशास्त्र विभागका डा. पार्थ सारथी दासलाई पीएचडी उपाधि पूरा गरेको उपलब्धिका लागि सम्बर्द्धना जनाइयो। त्यसै गरी नेपाली भाषामा भारतको संविधानको लेखन तथा अनुवाद कार्यमा सहभागी बनेको योगदानका लागि प्राचार्य डा. योगेश खाती र प्रा. पेञ्चुला भुटियालाई सम्मान गरिएको थियो।

कलेजमा उत्कृष्ट शैक्षिक प्रदर्शन गर्दै कलेज टपर बन्न सफल विद्यार्थी रोशनी छेत्रीलाई पनि विशेष सम्मान प्रदान गरियो। स्थानीय पत्रकारिताको विकास तथा समाजमा सूचना सम्प्रेषणका क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सोनादा क्षेत्रका पत्रकारद्वय किरण छेत्री र सञ्जीव मोहरा अनि सामाजिक सञ्जालमा सक्रिय अनलाइनका पत्रकारहरु सुमन गुरुङ, किरण शर्मा, सागर तामाङ, सोयम प्रधान र अजय राईलाई पनि कलेजका तर्फबाट सम्मान जनाइयो।

प्रमुख अतिथि विधायक सोनाम लामालाई पनि कलेजका तर्फबाट विशेष सम्बर्द्धना जनाइएको थियो। आफ्नो प्रमुख अतिथिको सम्बोधनमा लामाले विद्यार्थीहरूलाई अध्ययनप्रति गम्भीर, अनुशासित र मेहनती बन्न आह्वान गरे। उनले विकसित भारत निर्माणको लक्ष्य पूरा गर्न विद्यार्थी तथा युवावर्गसहित प्रत्येक नागरिकले आ-आफ्नो क्षमता र योग्यताअनुसार योगदान दिनुपर्ने बताए। सोही अवसरमा उनले सोनादा डिग्री कलेजको विकासका लागि आफ्नो विधायक कोषबाट ५ लाख रुपियाँ प्रदान गर्ने घोषणा गरे।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande