खरसाङका असंगठित श्रमिक संगठनको पञ्जीकरण गरिने
Unorganised labour front


खरसाङ, १४ सेप्टेम्बर (हि.स.)। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा (भागोप्रमो) का केन्द्रिय अध्यक्ष अनित थापाको निर्देश तथा खरसाङ महकुमा समितिको सुझाउअनुसार खरसाङका असंगठित श्रमिकहरूको समस्या समाधानका लागि पहल अघि बढाइएको छ।

खरसाङ टाउन कमिटीका अध्यक्ष वीरबल पाख्रीनको नेतृत्वमा केही दिनअघि महकुमा कार्यालयमा सम्पन्न सभामार्फत असंगठित श्रमिक संगठनमा फेरबदल गर्दै नयाँ कमिटी गठन गरिएको थियो। दैनिक श्रम गरेर जीविका चलाउने श्रमिकहरूले कार्यक्षेत्रमा भोग्दै आएका समस्यालाई बुझ्ने र समाधानका लागि सहयोग गर्ने उद्देश्यले संगठनलाई सक्रिय बनाइएको हो।

नयाँ कमिटी गठनपछि संगठनलाई व्यवस्थित रूपमा सञ्चालन गर्न पञ्जीकरण गरिदिने टाउन कमिटीले दिएको आश्वासनअनुसार सोमबार नयाँ कमिटीका पदाधिकारी तथा सदस्यहरूले भागोप्रमोका केन्द्रिय अध्यक्ष अनित थापासँग भेटघाट गरे। भेटघाटमा टाउन कमिटीका अध्यक्ष वीरबल पाख्रीन तथा मूलसचिव राजु सेवा पनि उपस्थित थिए।

भेटका क्रममा असंगठित श्रमिक संगठनका अध्यक्ष सरण विश्वकर्माले आफ्नो टोलीका पदाधिकारी तथा सदस्यहरूको परिचय गराउँदै श्रम गरेर जीविका चलाइरहेका श्रमिकका दीर्घकालीन समस्या समाधान गर्न एउटा सुदृढ तथा पञ्जीकृत संस्था आवश्यक रहेको बताए।

केन्द्रिय अध्यक्ष अनित थापाले श्रमिकहरूको दीर्घकालीन समस्या समाधानका लागि ‘खरसाङ असंगठित श्रमिक संगठन’ को नाममा पञ्जीकरण गरिदिने प्रतिबद्धता व्यक्त गर्दै यसको जिम्मेवारी टाउन कमिटीलाई दिएका छन्।

अध्यक्ष थापाको आश्वासनप्रति आभार व्यक्त गर्दै सरण विश्वकर्माले खरसाङका असंगठित श्रमिकहरू भागोप्रमोको स्थापनाकालदेखि नै पार्टीसँगै रहेको र आगामी दिनमा पनि साथमा रहने बताए। संगठन पञ्जीकृत भएपछि खरसाङका श्रमिकहरूलाई एकत्रित गरी बृहत् सभा आयोजना गर्ने जानकारी पनि उनले दिए।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande