सिक्किममा ‘स्वच्छता ही सेवा २०२६’ अभियान शुभारम्भ, राज्यपालले विभिन्न विकासपरक योजनाको उद्घाटन गरे
सिक्किममा ‘स्वच्छता ही सेवा २०२६’ अभियान शुभारम्भ


गान्तोक, १७ सेप्टेम्बर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीको ७६औँ जन्मदिनको अवसर पारेर सिक्किममा बिहीबार ‘स्वच्छता ही सेवा २०२६’ अभियानको औपचारिक शुभारम्भ गरिएको छ। गान्तोकस्थित रिज पार्कमा आयोजित कार्यक्रममा राज्यपाल ओमप्रकाश माथुर मुख्य अतिथि तथा मुख्यमन्त्री प्रेमसिंह तामाङ विशिष्ट उपस्थितिका रूपमा उपस्थित थिए।

लोकभवनका अनुसर, राष्ट्रव्यापी रूपमा सञ्चालन हुने यो स्वच्छता अभियान आजदेखि शुरु भएर आगामी २ अक्टोबरमा राष्ट्रपिता महात्मा गान्धीको जयन्तीसम्म निरन्तर सञ्चालन हुनेछ। कार्यक्रमको शुभारम्भ प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिनको अवसरमा दीप प्रज्वलनबाट गरियो। राज्यपालसहित कार्यक्रममा उपस्थित जनप्रतिनिधि, अधिकारी तथा सर्वसाधारणले प्रधानमन्त्री मोदीको सुस्वास्थ्य, दीर्घायु तथा देशसेवामा सफल जीवनको कामना गर्दै दीप प्रज्वलन गरेका थिए।

त्यसपछि राज्यपाल माथुरले सिक्किमलाई स्वच्छ र सुन्दर बनाउने संकल्पसहित उपस्थित सबैलाई स्वच्छताको शपथ दिलाएको विज्ञप्तिमा उल्लेख छ। कार्यक्रममा राज्य सरकारका मन्त्री, विधायक, मुख्य सचिव, वरिष्ठ प्रशासनिक अधिकारी, विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्व तथा ठूलो संख्यामा सर्वसाधारणको सहभागिता रहेको थियो।

कार्यक्रमअन्तर्गत शहरी विकास विभागमार्फत उत्कृष्ट कार्य गरिरहेका विभिन्न स्वयं सहायता समूहलाई निरन्तर सेवाका लागि सम्मानस्वरूप आर्थिक सहयोगका चेक हस्तान्तरण गरियो। साथै, ग्रामीण विकास विभागद्वारा मोबाइल उपचार एकाइ सञ्चालनका लागि तयार गरिएको ‘मानक सञ्चालन प्रक्रिया’ सम्बन्धी मार्गदर्शिकाको विमोचन गरियो।

यसै क्रममा राज्यको फोहोर व्यवस्थापन तथा स्वच्छता प्रणालीलाई थप सुदृढ बनाउन १७ वटा सवारीसाधनलाई झन्डा देखाएर सञ्चालनमा ल्याइएको थियो। त्यसैगरी, सिक्किम लोकभवनको पहल तथा भारतीय स्टेट ब्यांकको सामाजिक उत्तरदायित्वअन्तर्गत सोरेङ प्राथमिक स्वास्थ्य केन्द्र र प्रधानमन्त्री श्री कस्तुरबा गान्धी बालिका विद्यालयका लागि उपलब्ध गराइएका दुईवटा एम्बुलेन्सलाई पनि झन्डा देखाएर सञ्चालनमा ल्याइएको छ।

कार्यक्रम सिक्किमलाई देशकै स्वच्छ, स्वस्थ तथा आत्मनिर्भर राज्य बनाउने संकल्पका साथ सम्पन्न भएको बताइएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande