
कोलकाता, १८ सेप्टेम्बर (हि.स.)। पश्चिम बंगालका विद्यालय, महाविद्यालय तथा विश्वविद्यालयको पाठ्यक्रममा अब डा. श्यामा प्रसाद मुखर्जीको जीवन, योगदान र विरासतसम्बन्धी विषय समेटिने भएको छ। यो व्यवस्था २०२७ को शैक्षिक सत्रदेखि लागू गर्ने तयारी गरिएको छ।
यससम्बन्धी निर्णय गत १३ अगस्तमा डा. श्यामा प्रसाद मुखर्जीको १२५औँ जयन्ती आयोजना गर्न गठित उच्चस्तरीय समितिको बैठकमा गरिएको थियो। बैठकको अध्यक्षता मुख्यमन्त्री शुभेन्दु अधिकारीले गरेका थिए।
राज्यको सूचना तथा सांस्कृतिक मामिला विभागले शुक्रबार विद्यालय शिक्षा तथा उच्च शिक्षा विभागलाई आवश्यक कदम चाल्न निर्देशन दिएको छ। विभागले विद्यालय, महाविद्यालय तथा विश्वविद्यालय तहको पाठ्यक्रममा श्यामा प्रसाद मुखर्जीको जीवन, योगदान र विरासतसँग सम्बन्धित विषय उचित रूपमा समावेश गर्न निर्देशन दिएको छ। यस दिशामा शैक्षिक संस्थाहरूबाट शीघ्र कारबाही गरी प्रतिवेदनसमेत मागिएको छ।
सरकारले पाठ्यक्रममा विषय समावेश गर्नेमै सीमित नरही विद्यालय तथा महाविद्यालयमा विद्यार्थीका लागि शैक्षिक तथा जनचेतनामूलक कार्यक्रम आयोजना गर्न पनि निर्देशन दिएको छ। यस्ता कार्यक्रममार्फत नयाँ पुस्तालाई श्यामा प्रसाद मुखर्जीको जीवन, विचार, योगदान तथा बंगालको इतिहासमा उनको भूमिकाबारे जानकारी गराउने योजना छ।
पाठ्यक्रम तथा शैक्षिक समितिका अध्यक्ष प्राध्यापक देवाशीष चटर्जीले यस विषयलाई शैक्षिक दृष्टिकोणबाट हेर्नुपर्ने बताएका छन्। विद्यार्थीले श्यामा प्रसाद मुखर्जीको योगदान तथा त्यसको ऐतिहासिक महत्त्व बुझ्ने अवसर पाउनुपर्ने उनको भनाइ छ। यसबाट विद्यार्थीले बंगालको इतिहास, समाज तथा विकासलाई व्यापक सन्दर्भमा बुझ्न सक्ने उनले बताए।
राज्य सरकारले राष्ट्रिय पुस्तकालयलाई श्यामा प्रसाद मुखर्जीसँग सम्बन्धित पुस्तक, दस्तावेज, ऐतिहासिक अभिलेख तथा अन्य सामग्री सङ्कलन गरी संरक्षण गर्न पनि निर्देशन दिएको छ। अनुसन्धानकर्ता, विद्यार्थी तथा भावी पुस्ताका लागि उनको जीवन र कार्यसँग सम्बन्धित सामग्रीको स्थायी सङ्ग्रह तयार गर्नु यसको उद्देश्य रहेको जनाइएको छ।
सरकारले संसद्का रेकर्डमा उपलब्ध श्यामा प्रसाद मुखर्जीका भाषण, बहस तथा अन्य दस्तावेजसमेत आवश्यक नियम र अनुमति पूरा गरी प्राप्त गर्ने सम्भावनाबारे अध्ययन गरिरहेको छ।
उच्चस्तरीय समितिले श्रीलङ्का, कम्बोडिया र म्यानमारका प्रतिष्ठित शैक्षिक संस्थासँग अन्तरराष्ट्रिय शैक्षिक सहकार्यको सम्भावना खोज्न पनि सिफारिस गरेको छ। यसअन्तर्गत श्यामा प्रसाद मुखर्जीको नाममा शैक्षिक अध्यासन स्थापना गर्ने तथा उनीसँग सम्बन्धित ऐतिहासिक दस्तावेज र सामग्री संरक्षण गर्ने सम्भावनाबारे समेत विचार गरिएको छ।
यसका अतिरिक्त राज्यका चयनित विद्यालय, महाविद्यालय तथा विश्वविद्यालय परिसरमा उपयुक्त स्थानमा श्यामा प्रसाद मुखर्जीको प्रतिमा, मूर्ति वा अन्य स्मारक स्थापना गर्ने प्रस्ताव पनि अघि सारिएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी