महाराष्ट्रको मुकुटबन-गडचन्दुर नयाँ रेलवे लाइन स्वीकृत, लागत 493 करोड़ रुपियाँ
रेलवे


नयाँ दिल्ली, १८ सेप्टेम्बर (हि.स.)। भारतीय रेलले महाराष्ट्रमा मुकुटबन (आदिलाबाद) र गडचांदुरबीच ३८.२१ किलोमिटर लामो नयाँ रेलमार्ग निर्माण गर्ने परियोजनालाई शुक्रवार स्वीकृति दिएको छ। ४९३ करोड़ रुपियाँ लागतको यस परियोजनाले क्षेत्रमा रेल सम्पर्क सुदृढ़ गर्नुका साथै औद्योगिक तथा खनन क्षेत्रबाट हुने माल ढुवानीलाई गति दिने अपेक्षा गरिएको छ।

रेल मन्त्रालय अनुसार, मुकुटबन र गडचांदुर क्षेत्र सिमेन्ट उद्योग, वेस्टर्न कोलफिल्ड्स लिमिटेडका कोइला खानी तथा चुनढुङ्गा खानीका लागि महत्वपूर्ण केन्द्र हुन्। नयाँ रेलमार्ग निर्माण भएपछि यी औद्योगिक तथा खानी क्षेत्रको रेल सम्पर्क सुधार हुनुका साथै मालसामानको ढुवानी सहज हुनेछ।

मन्त्रालय अनुसार, नयाँ रेलमार्ग हालको मार्गको तुलनामा छोटो तथा प्रभावकारी हुनेछ। यसबाट ढुवानी दूरी, समय र लागत घट्नेछ। साथै यो वर्धा-माणिकगढ़ रेलखण्डको वैकल्पिक मार्गका रूपमा प्रयोग हुने भएकाले उक्त मार्गको चाप कम गर्न सहयोग पुग्नेछ।

विस्तृत परियोजना प्रतिवेदन अनुसार, नयाँ रेलमार्ग सञ्चालनमा आएपछि वार्षिक ६.०८ मिलियन टन माल ढुवानी क्षमता थपिनेछ। यसका साथै दुवै दिशामा दैनिक दुई-दुई वटा मेमू रेल सञ्चालन गर्न सकिने सुविधा उपलब्ध हुनेछ।

नयाँ रेलमार्गबाट कोइला, कोक, सिमेन्ट, स्पन्ज आइरन, धातुका टुक्रा, इस्पात, मल तथा खाद्यान्नलगायत वस्तुको ढुवानी बढ्ने अपेक्षा गरिएको छ। यसले कोइला तथा सिमेन्ट क्षेत्रलाई मजरी-नान्देड रेलमार्गसँग प्रत्यक्ष जोड्नेछ, जसबाट जालना, परभणी, छत्रपति सम्भाजीनगर तथा महाराष्ट्र र कर्नाटकका अन्य क्षेत्रमा माल ढुवानी सहज हुनेछ।

मन्त्रालय अनुसार, परियोजना सम्पन्न भएपछि बल्हारशाह-नागपुर उच्च घनत्व रेलमार्गमाथिको निर्भरता कम हुनेछ। साथै, यवतमाल र चन्द्रपुरका तुलनात्मक रूपमा कम रेल सम्पर्क भएका क्षेत्रले समेत राम्रो रेल सुविधा प्राप्त गर्नेछन्। यसबाट क्षेत्रीय औद्योगिक गतिविधि तथा आर्थिक विकासलाई गति मिल्ने अपेक्षा गरिएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande