
नयाँ दिल्ली, १८ सेप्टेम्बर (हि.स.)। भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले शिशु आहार उत्पादन गर्ने कम्पनी नेस्ले इन्डिया लिमिटेडका दुई इकाइ विरुद्ध कारबाही अघि बढ़ाएको छ।
प्राधिकरणले शुक्रवार कम्पनीका दुई प्रमुख उत्पादन ‘नान एक्सेला प्रो स्टेज-१’ र ‘ल्याक्टोजन प्रो-१’ सम्बन्धमा गरिएको अनुसन्धानपछि कारबाहीको आदेश जारी गरेको हो। नेस्ले इन्डिया लिमिटेड विरुद्ध तीन छुट्टाछुट्टै मामिलामा कारबाही शुरु गरिएको प्राधिकरणले जनाएको छ।
प्राधिकरण अनुसार, ई-कमर्समा बिक्री भइरहेका यी उत्पादनको जाँच गर्दा कम्पनीले उत्पादनमा पाँच प्रकारका एचएमओ र ह्वे प्रोटिन तथा सहज रूपमा पच्ने ह्वे प्रोटिन जस्ता दाबी गरेको पाइएको थियो। नियमानुसार शिशु आहार सम्बन्धी उत्पादनको बिक्री प्रवर्द्धन गर्ने किसिमका यस्ता दाबी तथा विज्ञापन गर्न निषेध गरिएको छ। प्राधिकरणले यसलाई शिशु पोषण सम्बन्धी नियमावली, २०२० तथा शिशु दुग्ध विकल्प सम्बन्धी अधिनियम १९९२ को उल्लङ्घन भएको जनाएको छ।
यस बाहेक कम्पनीको फलोअप फर्मुलाको एउटा नमुनाको प्रयोगशाला परीक्षण गर्दा बायोटिनको मात्रा निर्धारित मापदण्डभन्दा कम पाइएको थियो। पुनः परीक्षणका लागि पठाइएको नमूना पनि निर्धारित मापदण्डअनुसार नपाइएको प्राधिकरणले जनाएको छ। यिनै कारणले नेस्ले इन्डिया विरुद्ध तीन अलग–अलग मामिलामा कारबाही अघि बढ़ाइएको प्राधिकरणले जनाएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी