
काठमाडौं, १९ सेप्टेम्बर (हि.स.)। तिब्बत हुँदै नेपाल प्रवेश गरी रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबारे अध्ययन तथा अनुसन्धान गरिरहेका वैज्ञानिकहरूले लगातार नयाँ तथ्य सार्वजनिक गरिरहेका छन्। यसै क्रममा विश्वका मौसमसम्बन्धी घटनाको अध्ययन गर्ने अन्तरराष्ट्रिय संस्था वर्ल्ड वेदर एट्रिब्युशन (डब्लूडब्लूए) ले भोटेकोशी बाढीको गतिबारे नयाँ निष्कर्ष सार्वजनिक गरेको छ।
यसअघि नेपालका बाढी विशेषज्ञहरूले भोटेकोशी बाढीको गतिलाई अहिलेसम्मकै सबैभन्दा तीव्र बाढी बताएका थिए। बाढी आएको भोलिपल्ट २७ अगस्तमा बाढी विशेषज्ञ दिनकर कायस्थले यसको गति प्रतिघण्टा ५५ किलोमिटरसम्म रहेको अनुमान गरेका थिए। उनले यो सम्भवतः नेपालमा अहिलेसम्म रेकर्ड गरिएको सबैभन्दा तीव्र बाढी हुन सक्ने बताएका थिए।
तर, डब्लूडब्लूएको अध्ययनमा बाढीको गति यसभन्दा दुई गुणाभन्दा बढी रहेको बताइएको छ। डब्लूडब्लूएका अनुसार, २६ अगस्तमा रसुवाको लाङटाङ लिरुङ हिमालमा ५ हजार १५० मिटरभन्दा बढी उचाइमा रहेको विशाल चट्टानी भाग भत्किएर तल खसेको थियो। त्यससँगै माथि रहेको हिमनदीको एक भाग पनि तल आएको थियो। ठूलो मात्रामा चट्टान र हिउँ एकैपटक तल खसेपछि पानी, माटो, ढुंगा र हिउँको विशाल मिश्रण तीव्र गतिमा बग्न थालेको थियो।
प्रतिवेदनअनुसार, यो मलबा ल्हेन्दे खोलासम्म पुग्दा शक्तिशाली बाढीमा परिणत भइसकेको थियो। उक्त बाढीको औसत गति करिब १८८ किलोमिटर प्रतिघण्टा रहेको थियो।
यस अध्ययनमा विभिन्न देशका २० भन्दा बढी वैज्ञानिक सहभागी छन्। बेन क्लार्क, मरियम जकारिया, बेथान डेविस, रेजिन हक र वाल्टर इम्मरजिललगायत विभिन्न देशका अनुसन्धानकर्ता तथा विशेषज्ञको सहकार्यमा प्रतिवेदन तयार गरिएको हो।
२२ किलोमिटर दूरी केवल ७ मिनेटमा तय
प्रतिवेदनअनुसार, बाढीले लाङटाङ क्षेत्रदेखि रसुवागढी सीमा क्षेत्रसम्मको करिब २२ किलोमिटर दूरी केवल ७ मिनेटमा पार गरेको थियो। यो गति सामान्य रेलगाडीको गतिसँग तुलना गरिएको छ। वैज्ञानिकहरूका अनुसार, नेपालका नदीमा यस प्रकारको गति यसअघि देखिएको थिएन। यही गतिमा चट्टान, हिउँ, माटो र पानीको मिश्रण भोटेकोशी नदीमा पुगेपछि तल्लो क्षेत्रमा ठूलो क्षति भएको थियो।
पाँच जिल्लामा ठूलो क्षति
हिउँ, चट्टान र मलबासहित आएको यो प्रवाह भोटेकोशी हुँदै त्रिशूली नदीसम्म पुगेको थियो। यस क्रममा रसुवा, नुवाकोट, धादिङसहित पाँच जिल्लाका १५ स्थानीय तहमा ठूलो जनधन तथा भौतिक संरचनाको क्षति भएको थियो। यस विपद्मा हालसम्म १ हजार ४ सयभन्दा बढी मानिसको मृत्यु पुष्टि भइसकेको छ भने करिब ६ हजार मानिस बेपत्ता रहेको बताइएको छ। बाढीका कारण अरबौं रुपियाँ बराबरका भौतिक संरचना पनि नष्ट भएका छन्।
तीव्र बहावले टिमुरे, स्याफ्रुबेँसी, मैलुङ, बेत्रावती, सोले, तुप्चे, भैंसे, त्रिशूली ढुंगे र देवघाटलगायत क्षेत्रमा ठूलो भूक्षय गराउँदै व्यापक क्षति पुर्याएको छ।
२०० किलोमिटर टाढाको देवघाट पुग्न ७ घण्टाभन्दा कम समय
वैज्ञानिकहरूको अध्ययनअनुसार, बाढीको प्रवाह करिब २०० किलोमिटर टाढा चितवनको देवघाटसम्म सात घण्टाभन्दा कम समयमा पुगेको थियो। देवघाटमा नदीको बहाव बढेर प्रतिसेकेन्ड करिब ५ हजार ८५० घनमिटरसम्म पुगेको थियो।
वैज्ञानिकहरूका अनुसार, चार घण्टाभन्दा कम समयमा करिब २ करोड घनमिटर थप पानी नदीमा बगेको थियो। यसबाहेक करिब ३ करोड ५ लाख घनमिटर माटो, ढुंगा तथा अन्य मलबा पनि बाढीसँगै बगेर विभिन्न क्षेत्रमा थुप्रिएको थियो। यसले भोटेकोशी र त्रिशूली नदी आसपासका क्षेत्रमा विनाशको स्तर अझ बढाएको थियो।
हिन्दुस्थान समाचार / बिशाल