
गान्तोक, 19 सेप्टेम्बर (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले नाम्ची जिल्लाको सालघारी निवासी वीरबहादुर राईसँग आज आफ्नो सरकारी निवासमा भेट गरेका छन्।
मुख्यमन्त्री तामाङले सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिँदै मलेसिया अल्ट्रा ट्रेल- यूटीएमबीमा वीरबहादुरले उल्लेखनीय उपलब्धि हासिल गर्दै सिक्किमलाई गौरवान्वित बनाएको बताएका छन्। उनले २५ किलोमिटर विधाअन्तर्गत एमवाई२५ वर्गमा २ घण्टा २५ मिनेटमा दौड पूरा गर्दै उपाधि जितेको र यससँगै यूटीएमबी शृंखलामा २५ किलोमिटर विधामा पदक जित्ने पहिलो भारतीय बनेको उल्लेख गरेका छन्।
मुख्यमन्त्रीले वीरबहादुरलाई ऐतिहासिक उपलब्धिका लागि बधाई दिँदै व्यावसायिक ट्रेल धावकका रूपमा उनको आगामी यात्राका लागि निरन्तर सफलताको शुभकामना व्यक्त गरेका छन्।
उनले वीरबहादुरको समर्पण र उपलब्धिले सिक्किमका धेरै युवा धावकलाई प्रेरणा प्रदान गर्ने विश्वास पनि व्यक्त गरेका छन्।
---------------
हिन्दुस्थान समाचार / बिशाल