
कोलकाता, १९ सेप्टेम्बर (हि.स.)। फोहोर प्रबन्धनको क्षेत्रमा उल्लेखनीय प्रदर्शन गर्दै पूर्व रेलवे देशका शीर्ष तीन क्षेत्रीय रेलवेमध्ये परेको छ। आर्थिक वर्ष २०२६-२७ को पहिलो पाँच महिनामा फोहोर बिक्रीमार्फत पूर्व रेलवेले २५१.९२ करोड रुपियाँ राजस्व संकलन गरेको छ। अधिकारीहरूका अनुसार, अनुपयोगी तथा पुराना सामग्रीको नियमित पहिचान, निरन्तर निगरानी र पारदर्शी निस्तारण प्रक्रियाका कारण यो सफलता हासिल भएको हो।
शनिबार जारी विज्ञप्तिमा रेलवेले जनाएको छ, यो उपलब्धि पूर्व रेलवेले सञ्चालन गरिरहेको ‘मिसन शून्य फोहोर सन्तुलन’ अभियानको हिस्सा हो। यस अभियानअन्तर्गत कार्यशाला, डिपो, शेड, यार्ड तथा अन्य रेलवे परिसरमा रहेका अप्रचलित र अनुपयोगी सामग्रीलाई व्यवस्थित रूपमा निस्तारण गर्ने लक्ष्य राखिएको छ।
३१ अगस्त, २०२६ सम्मका लागि निर्धारित २०७.१७ करोड रुपियाँको अनुपातिक लक्ष्यको तुलनामा पूर्व रेलवेले २५१.९२ करोड रुपियाँ संकलन गरेको छ, जुन लक्ष्यभन्दा २१ प्रतिशतभन्दा बढी हो। यससँगै चालु आर्थिक वर्षका लागि निर्धारित ५६५ करोड रुपियाँको कुल वार्षिक लक्ष्यको करिब ४५ प्रतिशत रकम पहिलो पाँच महिनामै हासिल भएको छ। गत वर्षको सोही अवधिमा १९३ करोड रुपियाँ संकलन भएको थियो, जसको तुलनामा यस वर्ष ३०.५ प्रतिशत वृद्धि भएको छ।
कुल राजस्वमा सबैभन्दा ठूलो योगदान अप्रचलित इन्जिनियरिङ तथा रेलमार्ग सामग्रीको बिक्रीबाट भएको छ। पूर्व रेलवेले करिब ११ हजार ५०० मेट्रिक टन पुराना रेलको लिक निस्तारण गरी २८.५६ करोड रुपियाँ प्राप्त गरेको छ। यसबाहेक करिब २९ हजार ५५ मेट्रिक टन विभिन्न फलामजन्य कबाडबाट १००.६३ करोड रुपियाँ तथा अलौह फोहोरबाट ५३.६५ करोड रुपियाँ राजस्व प्राप्त भएको छ।
यसैगरी, अनुपयोगी घोषित रेलसामग्रीको लिलामीबाट पनि उल्लेखनीय आम्दानी भएको छ। पहिलो पाँच महिनामा १७५ वटा अनुपयोगी यात्रु डिब्बा निस्तारण गरी ३१.८७ करोड रुपियाँ तथा ३१० वटा मालवाहक डिब्बा लिलामी गरी ११.८२ करोड रुपियाँ संकलन गरिएको छ।
पूर्व रेलवेका प्रमुख मुख्य सामग्री प्रबन्धक सन्दीप शुक्लाले समन्वित प्रयास, फोहोरको समयमै पहिचान तथा विद्युतीय लिलामी प्रणालीमार्फत पारदर्शी निस्तारणका कारण यो उपलब्धि हासिल भएको बताए। यो अभियान पूर्व रेलवेका हावडा, सियालदह, आसनसोल र मालदा गरी चारैवटा मण्डलका साथै जमालपुर, लिलुआ, हालिशहर र काँचरापाडामा रहेका प्रमुख कार्यशाला तथा भण्डार डिपोमा व्यापक रूपमा सञ्चालन गरिएको छ।
पूर्व रेलवेका मुख्य जनसम्पर्क अधिकारी शिवराम माझीले फोहोर प्रबन्धन अभियानबाट रेलवेले गैरभाडा राजस्व प्राप्त गर्नुका साथै बहुमूल्य रेलवे भूमि तथा भण्डारणस्थल खाली भइरहेको बताए। यसबाट कार्यस्थलको सुरक्षा र सरसफाइमा सुधार आउनुका साथै धातुको पुनःप्रयोगलाई समेत प्रोत्साहन मिलिरहेको उनले बताए। पूर्व रेलवेले ‘मिसन शून्य फोहोर सन्तुलन’ को लक्ष्य पूर्ण रूपमा हासिल गर्न अभियानलाई आगामी दिनमा पनि यही गतिमा निरन्तरता दिने उनले बताए।
हिन्दुस्थान समाचार / भवानी थामी