'सिक्किम डिजिटल मिडिया इम्प्यानलमेन्ट गाइडलाइन्स 2026' लाई अन्तिम रूप दिइयो
परामर्श बैठकमा सहभागी मिडियाकर्मीहरू


गान्तोक, १९ सेप्टेम्बर (हि.स.)। सिक्किम डिजिटल मिडिया इम्प्यानलमेन्ट गाइडलाइन्स 2026 लाई लिएर अन्तिम परामर्श बैठक आज गान्तोकस्थित सूचना तथा जनसम्पर्क विभागको सम्मेलन कक्षमा सम्पन्न भएको छ। यससँगै निर्देशिका तयार पार्ने परामर्श प्रक्रिया पनि पूरा भएको आईपीआर विभागले जनाएको छ।

बैठकमा प्रस्तावित निर्देशिकाका प्रावधानहरू बुँदागत रूपमा प्रस्तुत गरी राज्यका सञ्चार तथा पत्रकारिता क्षेत्रका प्रतिनिधि एवं सञ्चार प्रकाशन गृहका प्रतिनिधिहरूसँग विस्तृत छलफल गरिएको थियो। बैठकका साथै यसअघि सम्पन्न परामर्शबाट प्राप्त सुझाउ, टिप्पणी तथा रायहरूलाई आवश्यक परिमार्जनका लागि समेटिएको बताइएको छ।

प्रस्तावित निर्देशिकाले डिजिटल सञ्चार संस्थाहरूलाई सूचीकृत गर्ने विषयमा विश्वसनीयता, व्यावसायिक मापदण्ड, जवाफदेहिता तथा जिम्मेवार समाचार सम्प्रेषणलाई प्राथमिकता दिँदै व्यवस्थित र पारदर्शी ढाँचा स्थापना गर्ने उद्देश्य राखेको छ। निर्देशिकामा सूचीकरणका लागि आवश्यक योग्यता तथा मापदण्ड, रेकर्ड तथा सामग्री संग्रहको व्यवस्थापन, गुनासो समाधान, जिम्मेवार सार्वजनिक सञ्चार, व्यावसायिक तथा सम्पादकीय मापदण्ड र प्रचलित कानुनको पालना लगायतका प्रावधान समावेश छन्।

बैठकमा सिक्किम डिजिटल मिडिया इम्प्यानलमेन्ट कमिटी गठन तथा कार्यप्रणाली, सूचीकरण शुल्क, सूचीकरणको वैधता अवधि, समीक्षा तथा सूचीकरण खारेजी, साथै अपील, पुनरावलोकन र संशोधनसम्बन्धी प्रक्रियाबारे पनि छलफल गरिएको थियो। विस्तृत छलफलपछि प्रस्तावित निर्देशिकाका प्रावधानहरू बैठकमा उपस्थित सबै सरोकारवालाले स्वीकार तथा अनुमोदन गरेको बताइएको छ। यससँगै परामर्श प्रक्रिया पूरा भई प्रस्तावित ढाँचालाई अन्तिम रूप दिइएको छ।

आईपीआर विभागका अध्यक्ष आशित राईले तीव्र रूपमा विस्तार भइरहेको डिजिटल माध्यमको परिवेशमा पत्रकारिताको आधारस्तम्भ विश्वसनीयता रहेको बताए। उनले निर्देशिकाले विश्वसनीय सञ्चार संस्थाहरूलाई अनधिकृत तथा एकल व्यक्तिबाट सञ्चालित गतिविधिबाट छुट्याउन, प्रमाणित तथा प्रामाणिक समाचार प्रवाहलाई प्रोत्साहन गर्न र पत्रकारिता क्षेत्रलाई थप सुदृढ बनाउन सहयोग गर्ने बताए। आवश्यक छलफलपछि निर्देशिका औपचारिक नीतिगत ढाँचाका रूपमा विकसित हुने विश्वास पनि उनले व्यक्त गरे।

विभागकी सचिव अन्नपूर्ण आलेले निर्देशिकाको आवश्यकता र महत्त्वमाथि प्रकाश पार्दै यसलाई आवश्यक र महत्त्वपूर्ण दस्तावेजका रूपमा वर्णन गरिन्। उनले तीव्र रूपमा परिवर्तन भइरहेको डिजिटल सञ्चार क्षेत्रलाई जिम्मेवार, विश्वसनीय र जवाफदेही समाचार सम्प्रेषणका लागि स्पष्ट ढाँचा आवश्यक रहेको बताइन्। साथै, निर्देशिका निर्माणमा सरोकारवालाको सहभागिताको महत्त्वमा उनले जोड दिइन्।

आईपीआर विभागका ओएसडी पेमा छुल्टिम भोटियाले जिम्मेवार पत्रकारिता, विश्वसनीयता र जवाफदेहितालाई प्रवर्द्धन गर्ने स्पष्ट तथा पारदर्शी सूचीकरण प्रणाली आवश्यक रहेको बताए। बदलिँदो सञ्चार क्षेत्रअनुसार ढाँचालाई व्यावहारिक, समावेशी र प्रभावकारी बनाउन सरोकारवालासँग निरन्तर सहकार्य आवश्यक रहेको उनले बताए।

बैठकमा आईपीआर विभागका निर्देशक सुनिल मोथे, प्रेस क्लब अफ सिक्किम, जर्नलिस्ट युनियन अफ सिक्किमका सदस्यहरू तथा विभिन्न सञ्चार प्रकाशन गृहका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा आईपीआर विभागकी सहायक निर्देशक बिशाली खातीले स्वागत मन्तव्य राखेकी थिइन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande