
गान्तोक, २४ सेप्टेम्बर (हि.स.)। सिक्किमका राज्यपाल ओमप्रकाश माथुरसँग आज लोकभवनमा ‘बेसिक एजुकेसन मुभमेन्ट अफ इन्डिया’ नामक गैरसरकारी संस्थाको ब्यानरमा उत्तर प्रदेशका विभिन्न जिल्लाबाट आएका सरकारी प्राथमिक विद्यालयका शिक्षकहरूको प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ।
लोकभवनका अनुसार, उत्तर प्रदेशका यी शिक्षकहरू हाल सिक्किमको दुईदिने अध्ययन भ्रमणमा रहेका छन्। भेटवार्ताका क्रममा शिक्षकहरूले राज्यपालसँग संवाद गर्दै सिक्किमको अद्वितीय संस्कृति तथा प्राकृतिक सौन्दर्यसँग सम्बन्धित आफ्ना अनुभवहरू साझा गरे।
राज्यपाल माथुरले जैविक खेती, शान्तिप्रिय राज्य, अनुशासित यातायात, महिलाहरूको सहभागिता, स्वच्छता तथा पर्यावरणप्रति संवेदनशीलताजस्ता विषयमा शिक्षकहरूलाई मार्गदर्शन गरे। उनले शिक्षकहरूलाई निरन्तर राष्ट्र सेवाका लागि प्रेरित गरे।
हिन्दुस्थान समाचार / बिशाल