फूलपाती सांस्कृतिक शोभायात्रालाई लिएर खरसाङमा सभा सम्पन्न
फूलपाती सांस्कृतिक शोभायात्रालाई लिएर खरसाङमा सभा सम्पन्न


खरसाङ, २४ सेप्टेम्बर (हि.स.)। आगामी दशैंको अवसरमा आयोजना गरिने फूलपाती शोभायात्रालाई लिएर सूचना अनि सांस्कृतिक विभाग, गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको आयोजनामा खरसाङमा सभा सम्पन्न भएको छ। उक्त सभा खरसाङको पार्क लोकेशनस्थित सार्वजनिक भवनमा विनोद प्रकाश शर्माको अध्यक्षतामा सम्पन्न भयो।

सभामा खरसाङ क्षेत्रका विभिन्न संघ संस्थाहरुका प्रतिनिधिहरु उपस्थित रहेका थिए। सभालाई सूचना अनि सांस्कृतिक विभाग खरसाङका प्रभारी गोबिन्द छेत्रीले सञ्चालन गर्दै सभाको विषयमा विस्तृत जानकारी गराए। सभामा उपस्थित प्रतिनिधिहरुले फूलपाती शोभायात्रा समारोहलाई लिएर विभिन्न प्रकारका सल्लाह सुझाउहरु राखेका थिए।

सभामा आईएन शर्मा, सञ्जय छेत्री, सन्तोष परी, सुष्मा सिन्हा, तिलक शर्मा, आशा मुखिया लामा, रामकृष्ण शर्मा आदिले वक्तव्य राख्दै सांस्कृतिक शोभायात्रालाई लिएर विभिन्न सल्लाह सुझाउहरु राखेका थिए। सभालाई सभाध्यक्ष बिनोद प्रकाश शर्माले पनि वक्तव्य राखेका थिए।

यसै सभामा फूलपाती सांस्कृतिक शोभायात्राको लागि कमिटी गठन गरियो। उक्त कमिटीमा सभापति आईएन शर्मा, उपाध्यक्षद्वय आशा मुखिया लामा र रामकृष्ण शर्मा, सचिव गोविन्द छेत्री, सह सचिव सुरेन कटुवाल, कोषाध्यक्ष राजेस गजमेर चयन गरिएका छन्। साथै, खरसाङ क्षेत्रमा विभिन्न प्रतिनिधिहरुलाई लिएर फेरि सभा आयोजना गरिने सूचना अनि सांस्कृतिक विभाग खरसाङका प्रभारी एवं नवगठित कमिटीका सचिव गोविन्द छेत्रीले जानकारी गराएका छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande