
खरसाङ, २४ सेप्टेम्बर (हि.स.)। यहॉंको मन्टिभियट खेल मैदानमा जारी स्वर्गीय लुते सिङ सार्की विजेता तथा स्वर्गीय सुखमाया सार्की उपविजेता त्रिस्तरीय फुटबल प्रतियोगिताअन्तर्गत बिहीबार सम्पन्न अन्तर कार्यालय लिगका दुई खेलमा खरसाङ विद्युत विभाग ‘बी’ र आकाशवाणी खरसाङ विजयी बने।
पहिलो खेलमा विद्युत विभाग ‘बी’ ले खरसाङ कोर्टलाई २-१ गोलले पराजित गर्दै दोस्रो चरणमा स्थान बनायो। दोस्रो खेलमा आकाशवाणी खरसाङले एसआई स्कूललाई ४-१ गोलले हराउँदै पुल ‘डी’ को शीर्ष स्थानसहित नकआउट चरणमा प्रवेश गर्यो।
आकाशवाणीका नर्बु छिरिङ शेर्पा खेलका सर्वश्रेष्ठ खेलाडी घोषित भए। उनलाई खरसाङ महकुमा खेलकुद संघका अध्यक्ष मोहन योञ्जनले प्रमाणपत्र प्रदान गरे।
शुक्रबार हुने खेलमा एसआई स्कूल र एयर फोर्स तथा विद्युत विभाग ‘बी’ र दार्जिलिङ हिमालयन रेलवे कार्यालय आमनेसामने हुनेछन्। प्रतियोगिताअन्तर्गत १४ वर्षमुनिका बालक-बालिकाको फाइनल २ अक्टोबर तथा अन्तर कार्यालय मैत्री लिग तथा नकआउट फुटबलको फाइनल ३ अक्टोबरमा हुने आयोजकले जनाएको छ।
हिन्दुस्थान समाचार / हनोक