खरसाङ खण्ड पञ्चायत समितिमा भाजपा बोर्ड गठन, सहकारी सभापतिसहित चार कर्माध्यक्ष निर्विरोध चयन
खरसाङ खण्ड पञ्चायत समितिमा भाजपाबाट सहकारी सभापति अरुणा छेत्री प्रधानसहित चारजना कर्माध्यक्षहरु चयन


खरसाङ, २४ सेप्टेम्बर (हि.स.)। खरसाङ खण्ड पञ्चायत समितिमा भारतीय जनता पार्टीको बोर्ड गठन भएको छ। समितिमा सहकारी सभापतिसहित विभिन्न विभागका कर्माध्यक्षहरूको चयन बिहीबार सम्पन्न भएको छ।

चयन प्रक्रियाअन्तर्गत सहकारी सभापतिमा अरुणा छेत्री प्रधान चयन भएकी छन्। त्यसैगरी विभिन्न विभागका कर्माध्यक्षहरूमा पूर्त अर्थात् लोक निर्माण विभागमा दिल्पसना तामाङ, जनस्वास्थ्य विभागमा दिक्षा तामाङ, वन तथा भूमि विभागमा रोमा ठटाल र कृषि विभागमा स्नेह बरदेवा निर्विरोध चयन भएका छन्।

यसअघि भारतीय जनता पार्टीलाई समर्थन जनाएका कर्माध्यक्षहरूको विभाग भने यथावत् रहने जानकारी प्राप्त भएको छ। खरसाङ खण्ड पञ्चायत समितिको सभापतिमा विकास थापा यसअघि नै चयन भइसकेका थिए। बिहीबार एकजना सहकारी सभापति र चारजना नयाँ कर्माध्यक्ष गरी पाँचजना पदाधिकारी निर्विरोध चयन भएका हुन्।

नवनिर्वाचित सबै पदाधिकारीलाई भारतीय जनता पार्टीका तर्फबाट खदा लगाएर बधाई तथा शुभकामना व्यक्त गरिएको छ।

चयन प्रक्रिया तथा नयाँ पदाधिकारीहरूको नियुक्तिबारे पत्रकारहरूसँग कुराकानी गर्दै खरसाङ खण्ड पञ्चायत समितिका सभापति विकास थापा, सहकारी सभापति अरुणा छेत्री प्रधान तथा दार्जिलिङ जिल्ला भारतीय जनता पार्टीका सचिव बिनय प्रसादले खरसाङ खण्ड पञ्चायत समितिमा भारतीय जनता पार्टीको बोर्ड गठन गरिएको जानकारी दिए।

उनीहरूले समितिको सभापति यसअघि नै चयन भइसकेको र बिहीबार नयाँ सहकारी सभापतिसहित चारजना कर्माध्यक्ष चयन गरिएको बताउँदै अब भारतीय जनता पार्टीको बोर्डले खरसाङ खण्डका जनताका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande