
पाकिम, २४ सेप्टेम्बर (हि.स.)। पाकिम जिल्लाको कृषि तथा बागवानी विभागअन्तर्गत आज स्थानीय रुर्बन हलमा बीउ उत्पादन तथा कृषि डिजिटल पहलसम्बन्धी कार्यशाला तथा प्रशिक्षण कार्यक्रम आयोजना गरियो। प्राविधिक ज्ञान सुदृढ गर्ने, बीउ उत्पादनका अभ्यासमा सुधार ल्याउने तथा विभिन्न सञ्चालनमा रहेका कृषि कार्यक्रम, योजना र डिजिटल पहलहरूबारे क्षेत्रीय कर्मचारीहरूलाई सचेत गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो।
कार्यक्रममा पाकिम जिल्लाभरिका कृषि तथा बागवानी विभागका सबै उपनिर्देशक, कृषि विकास अधिकारी, बागवानी विकास अधिकारी, कृषि निरीक्षक, बागवानी निरीक्षक, गाउँस्तरीय कार्यकर्ता, बीउ निरीक्षक, कृषि प्राविधिक व्यवस्थापक, व्यवसाय प्राविधिक व्यवस्थापक तथा अन्य क्षेत्रीय कर्मचारीहरूको सहभागिता रहेको थियो।
पाकिमकी कृषि उपनिर्देशक रेबेका गुरुङले एग्रीस्ट्याक- किसान रजिस्ट्री र डिजिटल फसल सर्वेक्षणसम्बन्धी विस्तृत सत्र सञ्चालन गरिन्। उनले पाकिम जिल्लामा यी पहलहरूको प्रगति, क्षेत्रीय स्तरमा भइरहेको कार्यान्वयन तथा सञ्चालन गरिएका प्रमुख गतिविधिबारे जानकारी दिइन्।
उनले सूक्ष्म सिँचाइसम्बन्धी कार्यक्रम तथा हालै स्थापना गरिएका समूहहरूबारे पनि जानकारी दिइन्। साथै विद्यालय माटो स्वास्थ्य कार्यक्रमबारे सहभागीहरूलाई अवगत गराइन्। उनले कृषि प्रविधि व्यवस्थापन एजेन्सीअन्तर्गत कृषि प्रविधि व्यवस्थापक तथा व्यवसाय प्राविधिक व्यवस्थापकहरूले सञ्चालन गर्नुपर्ने कृषक केन्द्रित गतिविधिको प्रभावकारी कार्यान्वयन तथा अनुगमनको महत्त्वमा जोड दिइन्।
फसल उत्पादन तथा मूल्याङ्कनसम्बन्धी कृषि अनुप्रयोगको सत्र कृषि विकास अधिकारी बिनिता क्षेत्रीले सञ्चालन गरिन्। उनले यसको कार्यान्वयन तथा क्षेत्रीय स्तरमा गरिने गतिविधिबारे जानकारी दिँदै प्रभावकारी कार्यान्वयन र अनुगमनमा जोड दिइन्। उनले फसल उत्पादन तथा मूल्याङ्कनसम्बन्धी कृषि अनुप्रयोगबारे विस्तृत प्रस्तुति पनि दिइन्।
कृषि विकास अधिकारी गगन गुरुङले बीउ उत्पादन तथा साथी पोर्टलसम्बन्धी प्राविधिक सत्र सञ्चालन गरे। उनले बीउ उत्पादनका अभ्यास, दर्ता प्रक्रिया तथा त्यससँग सम्बन्धित डिजिटल प्रक्रियाबारे जानकारी दिए।
विभिन्न बागवानी गतिविधिसम्बन्धी विशेष प्राविधिक सत्र बागवानी विभागकी उपनिर्देशक हिस्से छेडे भोटियाले सञ्चालन गरिन्। उनले फलफूल तथा अन्य बागवानी बालीको क्षेत्र विस्तारअन्तर्गत स्थापना गरिएका सबै समूहमा उचित रेकर्ड राख्ने तथा नियमित अनुगमन गर्ने महत्त्वमा जोड दिइन्।
उनले विशेषगरी चेरी खुर्सानी, ठूलो अलैंची तथा सिक्किम सुन्तलाका खेतहरूको नजिकबाट अनुगमन गर्नुपर्नेमा जोड दिँदै क्षेत्रीय कर्मचारीहरूलाई गतिविधिहरूको उचित कार्यान्वयन तथा त्यसपछिको अनुगमन सुनिश्चित गर्न आग्रह गरिन्।
कार्यशालामा अन्तरक्रियात्मक छलफल सत्रसमेत आयोजना गरिएको थियो। उक्त सत्रमा सहभागी अधिकारी तथा क्षेत्रीय कर्मचारीहरूले विभिन्न क्षेत्रीय समस्याबारे छलफल गर्नुका साथै आफ्ना अनुभवहरू आदानप्रदान गरे र विभागीय कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न आवश्यक स्पष्टीकरण प्राप्त गरे।
हिन्दुस्थान समाचार / बिशाल