
गान्तोक, २५ सेप्टेम्बर (हि.स.)। सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमले रिम्बी क्षेत्रमा गएको पैह्रोबाट प्रभावित सम्पूर्ण परिवारप्रति गहिरो ऐक्यबद्धता, सहानुभूति तथा समर्थन व्यक्त गरेको छ। पार्टीले यस कठिन घडीमा प्रभावित नागरिकहरूलाई एक्लो महसुस हुन नदिनु तथा उनीहरूको जीवन, सुरक्षा र सम्मान सुनिश्चित गर्नु राज्य सरकार, सम्बन्धित निकाय तथा सम्पूर्ण समाजको साझा जिम्मेवारी रहेको प्रेस विज्ञप्तिमा बताएको छ।
सीएपीले प्रभावित नागरिकहरूको जीवन, सुरक्षा, सम्मान र भविष्यप्रति पूर्ण रूपमा संवेदनशील रहेको स्पष्ट पार्दै राज्य सरकारसमक्ष तत्काल राहत र सुरक्षित आश्रय, स्थलगत निरीक्षण तथा क्षतिको मूल्याङ्कन, सुरक्षित तथा सम्मानजनक पुनर्स्थापना, दीर्घकालीन सुरक्षा योजना, क्षतिपूर्ति तथा आर्थिक सहयोग र पारदर्शिता तथा सामूहिक जिम्मेवारीको माग राखेको छ।
सीएपीले सम्पूर्ण नागरिक, सामाजिक संस्था तथा सम्बन्धित निकायहरूलाई यस विपद्को समयमा मानवीय सहयोग र ऐक्यबद्धताका लागि अपील पनि गरेको छ। सीएपीले रिम्बी पैह्रो प्रभावित परिवारहरूको साथमा दृढतापूर्वक उभिएको बताउॅंदै प्रभावित नागरिकहरूको सुरक्षित भविष्य, सम्मानजनक पुनर्स्थापना तथा दीर्घकालीन सुरक्षाका लागि पार्टीले निरन्तर आवाज उठाउने प्रतिबद्धता व्यक्त गरेको छ।
हिन्दुस्थान समाचार / बिशाल