रिम्बीमा भिषण पैह्रो, क्षेत्र विधायक र अधिकारीहरूले गरे स्थलगत निरीक्षण, दिए तत्काल राहतको आश्वासन
क्षेत्र विधायक र अधिकारीहरूले गरे स्थलगत निरीक्षण


गेजिङ, २५ सेप्टेम्बर (हि.स.)। गेजिङ जिल्लाको रिम्बीमा पैह्रोले बिहीबार राति उग्र रूप लिॅंदै गाउँभित्र प्रवेश गरेपछि गाउॅं तथा छेउछाउका क्षेत्रमा व्यापक क्षति गरेको छ। गत १३ अगस्तदेखि सक्रिय रहेको पैह्रोले अचानक नयाँ दिशा लिँदै गाउँभित्र प्रवेश गरेपछि स्थिति भयावह भएको हो।

घटनामा हालसम्म मानवीय क्षतिको कुनै सूचना प्राप्त भएको छैन। यद्यपि दुईवटा घर पूर्ण रूपमा बगाएको छ। प्रतिकूल मौसमका कारण राहत टोली गाउँभित्र प्रवेश गर्न सकेपछि मात्र सम्पत्ति तथा पशुधनमा भएको कुल क्षतिको विस्तृत आकलन गरिने प्रशासनले जनाएको छ।

प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिन आज मन्त्री तथा क्षेत्र विधायक छिरिङ टी. भोटियासहित राजस्व तथा आपदा प्रबन्धन विभागका सचिव तथा राहत आयुक्त रिन्जिङ छेवाङ भोटिया, गेजिङ जिल्लाका जिल्लापाल तेन्जिङ डी. डेन्जोङ्पा, अतिरिक्त जिल्ला विकास अधिकारी सुरत गुरुङलगायत वन, विद्युत्, सशस्त्र सीमा बलको ७२औँ बटालियन तथा विभिन्न विभागका अधिकारीले शुक्रबार प्रभावित क्षेत्रको भ्रमण गरेका छन्।

स्थलगत भ्रमणका क्रममा अधिकारीहरूले प्रभावित परिवार तथा स्थानीय बासिन्दासँग भेट गरी पैह्रोको अवस्था र तत्काल आवश्यकताबारे जानकारी लिएका थिए। अधिकारीहरूले प्रभावित सबै परिवारलाई तत्काल राहत उपलब्ध गराइने आश्वासन दिएका छन्। पैह्रो प्रभावित परिवारहरूका लागि राहत शिविर स्थापना गरिसकिएको तथा राहतका आवश्यक कार्यहरू अघि बढाइएको छ।

सचिव तथा राहत आयुक्त भोटियाले लागू प्रावधान तथा मापदण्डअनुसार सबै प्रभावित परिवारलाई तत्काल राहत सहायता उपलब्ध गराइने आश्वासन दिए। प्रशासनले अल्पकालीन राहत तथा आवश्यक सहयोगको व्यवस्था गरिरहेको र आवश्यकता भएका स्थानमा प्रभावित परिवारका लागि व्यवस्थित राहत शिविर सञ्चालन गरिने जनाएको छ।

मन्त्री तथा क्षेत्र विधायक भोटियाले प्रभावित परिवारलाई राज्य सरकारबाट आवश्यक सबै सहयोग उपलब्ध गराउने आश्वासन दिए। उनले मुख्यमन्त्री तथा सिक्किम सरकारलाई अवस्थाबारे जानकारी गराइसकिएको र राज्य सरकारबाट आवश्यक सबै सहयोग उपलब्ध गराउने आश्वासन प्राप्त भएको बताए।

मन्त्रीले स्थानीय बासिन्दालाई सतर्क रहन आग्रह गर्दै पैह्रोको वर्तमान अवस्थालाई ध्यानमा राखेर विशेषगरी रातको समयमा अनावश्यक आवतजावत नगर्न सर्वसाधारणलाई सुझाउ दिए।

स्थलगत भ्रमणका क्रममा अधिकारीहरूले निधारित राहत शिविरको पनि निरीक्षण गरी प्रभावित परिवारका लागि भइरहेको व्यवस्थाको समीक्षा गरेका थिए। यसैबीच राहत आयुक्तले पत्रकार सम्मेलन गरी रिम्बीको वर्तमान अवस्था तथा प्रशासनद्वारा सञ्चालन भइरहेका राहत कार्यबारे सञ्चारमाध्यमलाई जानकारी दिएका छन्।

जिल्ला प्रशासनले अवस्थाको निरन्तर निगरानी गरिरहेको जनाएको छ। जोखिमयुक्त क्षेत्रमा रहेका बासिन्दालाई सतर्क रहन तथा प्रशासनद्वारा जारी निर्देशनको पालना गर्न आग्रह गरिएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande