पूर्व क्षेत्र जुनियर एथलेटिक्समा सिक्किमका खेलाडीहरूको उत्कृष्ट प्रदर्शन, मुख्यमन्त्रीले दिए बधाई
पूर्व क्षेत्र जुनियर एथलेटिक्समा सिक्किमका खेलाडीहरूको उत्कृष्ट प्रदर्शन


गान्तोक, २६ सेप्टेम्बर (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले बिहारको पटनामा आयोजित ३७औँ पूर्व क्षेत्र जुनियर एथलेटिक्स च्याम्पियनसिप २०२६ मा उत्कृष्ट प्रदर्शन गर्दै पदक जित्ने सिक्किमका खेलाडीहरूलाई बधाई दिएका छन्।

मुख्यमन्त्री तामाङले सामाजिक सञ्जालमार्फत खेलो इन्डिया राज्यस्तरीय उत्कृष्टता केन्द्र (केआईएससीई), सिक्किमका खेलाडीहरूको उपलब्धिको प्रशंसा गरेका हुन्। प्रतियोगितामा फुर्बा हिस्से शेर्पाले १५०० मिटर दौडमा स्वर्ण तथा ३००० मिटर दौडमा कांस्य पदक जितेका छन्। यसैगरी, सबिना राईले ३००० मिटर दौडमा स्वर्ण पदक जितेकी छन् भने अञ्चल राईले ३००० मिटर स्टिपलचेजमा कांस्य तथा सपना खनालले १५०० मिटर दौडमा कांस्य पदक जितेका छन्।

मुख्यमन्त्री तामाङले खेलाडीहरूको उत्कृष्ट प्रदर्शन उनीहरूको समर्पण, अनुशासन र निरन्तर मेहनतको परिणाम रहेको बताएका छन्। साथै केआईएससीई सिक्किममा भइरहेको व्यवस्थित प्रशिक्षण तथा प्रतिस्पर्धात्मक अनुभवले पनि खेलाडीको प्रदर्शनमा योगदान पुर्‍याएको उनले उल्लेख गरेका छन्।

मुख्यमन्त्रीले खेलाडी, प्रशिक्षक, प्राविधिक कर्मचारी तथा सिक्किम एथलेटिक्स संघको सामूहिक प्रयासको प्रशंसा गर्दै राज्यका खेल प्रतिभालाई हुर्काउन उनीहरूले पुर्‍याएको योगदानका लागि धन्यवाद दिएका छन्।

उनले युवा खेलाडीहरूलाई आगामी दिनमा पनि उत्कृष्ट प्रदर्शन गर्दै गर्वका साथ सिक्किमको झण्डा उच्च राख्न शुभकामना दिएका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande