गेजिङ जिल्ला प्रशासनद्वारा दोस्रो दिन रिम्बी पैह्रोको स्थलगत निरीक्षण
गेजिङ जिल्ला प्रशासनद्वारा दोस्रो दिन रिम्बी पैह्रोको स्थलगत निरीक्षण


गेजिङ, २६ सेप्टेम्बर (हि.स.)। रिम्बीमा गएको पैह्रोपछि उत्पन्न अवस्थाको मूल्याङ्कन तथा प्रभावित क्षेत्रमा जारी राहत, पुनःस्थापना र सुरक्षा उपायको समीक्षा गर्न गेजिङ जिल्ला प्रशासनले आज लगातार दोस्रो दिन रिम्बीको स्थलगत भ्रमण गरेको छ। स्थलगत निरीक्षणको नेतृत्व मन्त्री तथा क्षेत्र विधायक छिरिङ टी. भोटिया र गेजिङका जिल्लापाल तेन्जिङ डी. डेन्जोङ्पाले गरेका थिए।

टोलीले प्रभावित क्षेत्रको अवस्थाको मूल्याङ्कन गर्दै स्थानीय बासिन्दाहरूको सुरक्षा तथा हितका लागि भइरहेका कार्यको समीक्षा गरेको बताइएको छ। भ्रमणका क्रममा अधिकारीहरूले प्रभावित स्थलको वर्तमान अवस्थाबारे जानकारी लिए। साथै स्थानीय जनप्रतिनिधि तथा सम्बन्धित विभागसँग राहत कार्य, अत्यावश्यक सेवा पुनःस्थापना, विद्युत् आपूर्ति, सडक सम्पर्क तथा अन्य तत्कालीन आवश्यकताबारे समन्वय र छलफल गरे।

मन्त्री तथा क्षेत्र विधायक छिरिङ टी. भोटियाको उपस्थितिमा विभिन्न विभागका अधिकारीहरूसँग छोटो बैठक पनि आयोजना गरियो। बैठकमा जिल्लाधिकारी तेन्जिङ डी. डेन्जोङ्पाले सबै अधिकारी तथा विभागबीचको उचित समन्वयका कारण हालसम्म कुनै मानवीय क्षति नभएकोमा धन्यवाद दिए।

मन्त्री भोटियाले पनि यस्तो ठूलो विपद्का बेला समन्वयात्मक ढङ्गमा तत्काल प्रतिक्रिया जनाएकोमा जिल्लाधिकारी तथा विभिन्न विभागका अधिकारीलाई धन्यवाद दिए। उनले रिम्बीका पैह्रो प्रभावित परिवारलाई सहयोग गर्ने स्थानीय निकाय, गैरसरकारी संस्था, विभिन्न सरोकारवाला तथा व्यक्तिगत रूपमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे।

हालसम्म मानवीय क्षतिको कुनै विवरण प्राप्त नभएको जनाइएको छ। टोलीले एकीकृत बाल विकास सेवा केन्द्र तथा विद्युत् विभागका केही सरकारी क्वार्टरको समेत निरीक्षण गरी भएको क्षतिको विवरण सङ्कलन गरेको छ। विद्युत् विभागका कार्यालयलाई अन्यत्र स्थानान्तरण तथा पुनःस्थापना गरिने जनाइएको छ।

विपद् राहतअन्तर्गतका चेक आगामी सोमबार अर्थात् अर्को कार्यदिवससम्म वितरण गरिने जानकारी दिइएको छ। जिल्ला प्रशासनले प्रभावित क्षेत्रको अवस्थामाथि निरन्तर निगरानी राख्दै सम्बन्धित सबै विभागसँग समन्वय गरिरहेको जनाएको छ। प्रभावित बासिन्दालाई आवश्यक सहयोग उपलब्ध गराउने, अत्यावश्यक सेवा समयमै पुनःस्थापना गर्ने तथा प्रभावकारी विपद् व्यवस्थापन सुनिश्चित गर्ने कार्य जारी रहने प्रशासनले जनाएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande