सिकनलाई प्रतिष्ठित स्कच पुरस्कार, अध्यक्ष राईले सरोकारवालालाई समर्पित गरे
सिकनलाई प्रतिष्ठित स्कच पुरस्कार


गान्तोक, २६ सेप्टेम्बर (हि.स.)। सिक्किम राज्य सहकारी संघ (सिकन) लाई एकीकृत सहकारी विकास, प्रशिक्षण तथा जीविकोपार्जन अभिवृद्धि कार्यक्रमका लागि प्रतिष्ठित स्कच पुरस्कार प्रदान गरिएको छ। नयाँ दिल्लीमा आयोजित समारोहमा सिकनका अध्यक्ष डा. मंगलजित राई तथा उपाध्यक्ष पीपी शर्माले सम्पूर्ण सिकन परिवारका तर्फबाट पुरस्कार ग्रहण गरे।

भारतको प्रधानमन्त्रीका आर्थिक सल्लाहकार परिषद्का अध्यक्ष प्रा. एस. महेन्द्र दे तथा स्कच समूहका अध्यक्ष समीर कोचरले नयाँ दिल्लीस्थित इन्डिया ह्याबिटाट सेन्टरको सिल्भर ओक हलमा आयोजित ११०औँ स्कच शिखर सम्मेलनका क्रममा पुरस्कार प्रदान गरेका हुन्।

सिकनले यसअघि स्कचको मूल्याङ्कन प्रक्रियाका सबै चरण सफलतापूर्वक पूरा गरेको र प्रतिष्ठित सम्मानका लागि छनोट भएको सिकनले प्रेस विज्ञप्तिमा बताएको छ।

सिकनका अध्यक्ष डा. मंगलजित राईले कृतज्ञता व्यक्त गर्दै उक्त सम्मान सिक्किमका सहकारी संस्था, सदस्य, कर्मचारी तथा सरोकारवालालाई समर्पित गरे। उनले यस सम्मानले सिक्किममा सहकारी आन्दोलनलाई अझ सुदृढ बनाउन, दिगो जीविकोपार्जन प्रवर्द्धन गर्न तथा सहकारी सदस्यलाई सशक्त बनाउन सिकनलाई थप प्रेरणा मिल्ने बताए।

उनले यो सम्मान सिक्किममा सुदृढ, समावेशी तथा प्रविधिमैत्री सहकारी आन्दोलन निर्माण गर्ने सिकनको निरन्तर प्रयासमा महत्वपूर्ण उपलब्धि रहेको उल्लेख गरेका छन्। यसले क्षमता विकास, जीविकोपार्जन अभिवृद्धि, नवप्रवर्तन तथा सहकारी विकासका क्षेत्रमा संघले अघि बढाइरहेको कार्यलाई थप गति दिने अपेक्षा गरिएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande