२८ अक्टोबरदेखि तीन दिवसीय 'सिक्किम कला तथा साहित्य महोत्सव' को दोस्रो संस्करण
२८ अक्टोबरदेखि तीन दिवसीय 'सिक्किम कला तथा साहित्य महोत्सव' को दोस्रो संस्करण


गान्तोक, २९ सेप्टेम्बर (हि.स.)। सिक्किम कला तथा साहित्य महोत्सव (एसएएलएफ) २०२६ को दोस्रो संस्करण आगामी २८ देखि ३० अक्टोबरसम्म गान्तोकस्थित रिज पार्कमा आयोजना हुने भएको छ। महोत्सवको मिति मंगलबार गान्तोकमा आयोजित पत्रकार सम्मेलनमार्फत घोषणा गरिएको हो।

राजधानीमा आज आयोजित पत्रकार सम्मेलनमा गान्तोकका विधायक दिले नामग्याल बर्फुङ्पा, सोरेङ च्याखुङका विधायक आदित्य गोले, विद्यार्थी कल्याण बोर्डका अध्यक्ष सोनाम छोपेल शेर्पा, संस्कृति विभागकी अध्यक्ष भीमकुमारी शर्मा तथा टिमवर्क आर्ट्सका वरिष्ठ उपाध्यक्ष सैयद शम्स जावेदले जानकारी दिए।

तीन दिवसीय महोत्सवमा लेखक, कवि, चिन्तक, कलाकार तथा सांस्कृतिक क्षेत्रका व्यक्तित्वहरू सहभागी हुनेछन्। महोत्सवमा साहित्यिक संवाद, कविता वाचन, सांस्कृतिक प्रस्तुति, कार्यशाला तथा साहित्यिक आदान-प्रदानलगायतका कार्यक्रम आयोजना गरिनेछ।

मुख्यमन्त्री प्रेमसिंह तामाङको पहलमा शुरु गरिएको एसएएलएफ विद्यार्थी कल्याण बोर्ड, राज्य शिक्षा विभागको आयोजनामा तथा टिमवर्क आर्ट्सको सहकार्यमा आयोजना हुँदै आएको छ। दोस्रो संस्करणले संवाद, सिर्जनशीलता र युवाको सहभागिताका लागि मञ्च निर्माण गर्ने उद्देश्यलाई थप अघि बढाउँदै सिक्किमका सांस्कृतिक आवाजलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय दृष्टिकोणसँग जोड्ने लक्ष्य राखेको छ।

महोत्सव सबैका लागि खुल्ला र निःशुल्क रहनेछ। यसले सिक्किमका समृद्ध साहित्यिक तथा सांस्कृतिक परम्पराका साथै यहाँका विविध समुदाय, भाषा, इतिहास र मौखिक परम्परालाई उजागर गर्नेछ। साथै, सिक्किम तथा समग्र हिमालय क्षेत्रका संगीत, कथा र अनुभवलाई पहिचान, स्मृति, भू-दृश्य, अपनत्व तथा समकालीन संस्कृतिसँग सम्बन्धित संवादमा प्रस्तुत गरिनेछ।

एसएएलएफ २०२६ मा छुदेन काबिमो, मामाङ दाई, नवराज पराजुली, रञ्जित होस्कोटे, विलियम ड्यालरिम्पल, युवान एभ्स, गुरु टी. लद्दाखी र स्टिफन अल्टरलगायतका लेखक, चिन्तक तथा सांस्कृतिक क्षेत्रका व्यक्तित्व सहभागी हुनेछन्। महोत्सवका प्रमुख कार्यक्रममध्ये ‘इकोज अफ भर्स’ मा मामाङ दाई र रञ्जित होस्कोटेले गुरु टी. लद्दाखीसँग कविता, स्मृति, भू-दृश्य तथा जीवन अनुभवबीचको सम्बन्धबारे संवाद गर्नेछन्।

यसैगरी, चर्चित कवि नवराज पराजुलीको प्रस्तुति ‘कविता कन्सर्ट: बिट्स अफ पोएट्री’ पनि आयोजना हुनेछ। यसले कविताको लय, ऊर्जा र प्रत्यक्ष अनुभूतिलाई मञ्चमा प्रस्तुत गर्नेछ। ‘दिज हिल्स कल्ड होम’ कार्यक्रममा छुदेन काबिमो र स्टिफन अल्टरले शारदा छेत्रीसँग पहिचान, अपनत्व, स्मृति तथा हिमालयको भू-दृश्यबारे संवाद गर्नेछन्।

यसैगरी ‘ए बोर्डरल्यान्ड स्टेट अफ माइन्ड’ कार्यक्रममा अखिलेश उपाध्याय, पेमा वाङ्चुक दोर्जी र सत्यदीप एस. छेत्रीले अनुराधा शर्मासँग सीमावर्ती क्षेत्रमा जीवन बिताउँदा निर्माण हुने अनुभव, पहिचान तथा दृष्टिकोणबारे छलफल गर्नेछन्।

महोत्सवको प्रमुख केन्द्रमध्ये युवाको सहभागिता पनि रहेको छ। स्थापित लेखक, कलाकार तथा चिन्तकसँगको प्रत्यक्ष संवादमार्फत युवा दर्शक तथा नयाँ सिर्जनशील आवाजलाई साहित्य र कलासँग जोड्ने अवसर प्रदान गरिनेछ। यसबाट सिर्जनशीलता, आलोचनात्मक सोच तथा सांस्कृतिक आदानप्रदानलाई प्रोत्साहन गर्ने उद्देश्य राखिएको छ।

महोत्सवमा सबै उमेर समूह तथा बालबालिकाका लागि पनि कार्यशाला आयोजना गरिनेछ। गान्तोकमा आधारित सिर्जनात्मक आयोजक संस्था ट्यान्जिबल ट्यान्जरिन्स र माइन्ड म्याटर्सले यी कार्यशाला सञ्चालन गर्नेछन्।

सिक्किमको समृद्ध सांस्कृतिक परिवेशमा आधारित एसएएलएफले स्थानीय आवाजलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय दृष्टिकोणसँग जोड्ने मञ्चका रूपमा आफूलाई स्थापित गर्ने लक्ष्य राखेको छ। महोत्सवले यस क्षेत्रका साहित्यिक तथा कलात्मक परम्पराको उत्सव मनाउँदै हिमालयलाई आकार दिने विविध कथा, इतिहास, भू-दृश्य र समकालीन अनुभवलाई दर्शकमाझ प्रस्तुत गर्नेछ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande