बंगालमा जेएमबी सञ्जालको आशंका, एनआईएद्वारा पाँच स्थानमा तलासी अभियान
एनआईए


कोलकाता, २९ सेप्टेम्बर (हि.स.)। प्रतिबन्धित बांग्लादेशी आतङ्कवादी संगठन जमात–उल–मुजाहिदीन बांग्लादेश (जेएमबी) सँग सम्बन्धित सञ्जाल र गोप्य समूह तयार पारिएको आशंकाबीच राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए) ले मंगलवार पश्चिम बंगालका पाँच स्थानमा एकैसाथ तलासी अभियान चलाएको छ। असममा दर्ता भएको अन्तरराष्ट्रिय आतङ्कवाद सम्बन्धी एउटा मामिलाको अनुसन्धानका क्रममा यो कारबाही गरिएको हो।

एनआईएको टोली दक्षिण दिनाजपुरको बंशीहारी, दक्षिण २४ परगनाको डायमन्ड हार्बर, पूर्व बर्द्धमान सहित पाँच स्थानमा पुग्यो। कारबाहीका क्रममा पुलिसले पनि सहयोग गऱ्यो। यही मामिलासँग सम्बन्धित केही स्थानमा असम र केरलामा पनि तलासी अभियान चलाइएको जानकारी आएको छ।

असममा गत साता पक्रा परेको एक युवकसँग सोधपुछ गर्दा कथित रूपमा जेएमबीसँग सम्बन्धित सम्पर्कबारे जानकारी प्राप्त भएको बताइएको छ। त्यसपछि उसको ल्यापटप र अन्य कागजातको जाँच गर्दा पश्चिम बंगालका केही युवालाई सामाजिक सञ्जाल मार्फत राज्यमा कथित जेएमबी समूह सक्रिय गराउने प्रयाससँग सम्बन्धित सुराग भेटिएको दाबी गरिएको छ। यही सूचनाका आधारमा मंगलवार विभिन्न स्थानमा तलासी लिइएको हो।

दक्षिण दिनाजपुरको बंशीहारीमा एनआईएको चार सदस्यीय टोलीले पुलिससँग मिलेर कुसकारी मुन्देहार क्षेत्रमा मिजानुर रहमानको घरमा तलासी लियो। अनुसन्धानको एउटा पक्ष उसका छोरा मुजीबुर रहमान (२६) सँग पनि सम्बन्धित रहेको बताइएको छ।

परिवार अनुसार, मुजीबुर उच्च शिक्षासँगै संघ लोक सेवा आयोग (यूपीएससी) परीक्षाको तयारी गरिरहेको थियो र जनवरीसम्म घरमै थिए। त्यसपछि उबारे परिवारलाई कुनै जानकारी नभएको बताइएको छ। यद्यपि, उ बेपत्ता हुनु र एनआईएको अनुसन्धानबीच कुनै सम्बन्ध छ कि छैन भन्ने पुष्टि भएको छैन।

अनुसन्धान एजेन्सीले कथित अनलाइन कट्टरपन्थ तथा युवाहरूलाई प्रभावित पार्ने प्रयासको पनि अनुसन्धान गरिरहेको छ। तलासीका क्रममा मोबाइल फोन, ल्यापटप, विद्युतीय कागजात तथा अन्य सामग्रीको जाँच भइरहेको छ।

पश्चिम बंगालमा जेएमबीसँग सम्बन्धित मामिलाको अनुसन्धान यसअघि पनि हुँदै आएको छ। एनआईएका पुराना मामिलामा पश्चिम बंगाल, असम र झारखण्डमा संगठनको कथित सञ्जाल, भर्ती तथा कट्टरपन्थी गतिविधिसँग सम्बन्धित अनुसन्धान गरिएको थियो। जून २०२६ मा पनि एजेन्सीले पश्चिम बंगाल र पूर्वोत्तर राज्यहरूमा केन्द्रित जेएमबीको कथित शाखासँग सम्बन्धित मामिलामा ११ आरोपी विरुद्ध आरोपपत्र दायर गरेको जानकारी दिएको थियो।

मंगलवार पाँच स्थानमा गरिएको तलासीपछि अनुसन्धानको दायरा अझ् विस्तार हुनसक्ने देखिएको छ। एनआईएले असममा पक्रा परेको व्यक्तिबाट खुलेका कथित सम्पर्कको वास्तविक स्वरूप के हो र उनीहरूबीच कुनै संगठित सञ्जालको प्रमाण छ कि छैन भन्ने पत्ता लगाउने प्रयास गरिरहेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande