भूपेन हजारिकाको १००औँ जयन्तीमा प्रधानमन्त्रीसहित अन्य नेताहरूले श्रद्धाञ्जली अर्पण गरे
प्रतीकात्मक


नयाँ दिल्ली, 0८ सेप्टेम्बर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदी, लोकसभा अध्यक्ष ओम बिरला, रक्षामन्त्री राजनाथ सिंहलगायतले मंगलबार संगीतकार, गायक तथा गीतकार डा. भूपेन हजारिकाको १००औँ जयन्तीका अवसरमा श्रद्धाञ्जली अर्पण गरेका छन्।

प्रधानमन्त्री मोदीले एक्समा लेखेका छन्, “महान् डा. भूपेन हजारिकालाई उहाँको १००औँ जयन्तीमा स्मरण गरिरहेको छु। उहाँको आवाजमा असमको आत्मा र पूर्वोत्तरको भावना समाहित थियो, जुन सम्पूर्ण देशसम्म पुगेको थियो। उहाँले आफ्नो संगीतमार्फत अनगिन्ती मानिसका विचार र भावनालाई अत्यन्त सुन्दर ढंगले अभिव्यक्त गर्नुभयो। उहाँका गीतहरूले मानिसहरूलाई एक-अर्काको नजिक ल्याए। गत वर्ष गुवाहाटीमा उहाँको जन्मशताब्दी समारोहको शुभारम्भमा सहभागी हुने सुखद अनुभव मलाई अझै स्मरण छ। भूपेन दाको जीवन र योगदानले आगामी पुस्तालाई निरन्तर प्रेरणा दिइरहनेछ।”

लोकसभा अध्यक्ष ओम बिरलाले भारत रत्नबाट सम्मानित महान् संगीतकार, गायक, गीतकार तथा पूर्वोत्तरलगायत सम्पूर्ण भारतको सांस्कृतिक चेतनाका सशक्त स्वर डा. भूपेन हजारिकाका गीतहरूमा लोकजीवनका संवेदना, आमजनताका आकांक्षा, प्रकृतिसँगको सम्बन्ध र मानवीय मूल्यहरूको गहिरो अभिव्यक्ति पाइने बताए। उनले आफ्नो सिर्जनशीलतामार्फत असमको समृद्ध लोकसंस्कृति तथा पूर्वोत्तर भारतको आवाजलाई देश-विदेशसम्म पुर्याएको बिरलाले बताए। उनका अमर रचनाहरूले आज पनि संवेदना, सद्भाव र मानवताको सन्देश दिइरहेको उनले उल्लेख गरे।

रक्षामन्त्री राजनाथ सिंहले संस्कृतिका महान् प्रतीक एवं दूरदर्शी चिन्तकका रूपमा डा. हजारिकाले असमको आत्मालाई आवाज दिएको बताए। आफ्नो संगीत र गहिरो मानवीय सोचमार्फत उनले भारतको सांस्कृतिक विरासतलाई समृद्ध बनाएको सिंहले बताए। उनका कालजयी रचनाहरूले करुणा, सद्भाव र सामाजिक न्यायका आदर्शलाई प्रतिबिम्बित गर्ने तथा देशभरका पुस्ताका हृदयलाई छुने उनले उल्लेख गरे। उनको अद्भुत विरासतले निरन्तर प्रेरणा दिइरहेको र मानिसहरूलाई एकताबद्ध गर्न तथा सीमाभन्दा पर पुर्याउन कला र संस्कृतिको स्थायी शक्तिको स्मरण गराउने सिंहले बताए।

केन्द्रिय गृहमन्त्री तथा सहकारितामन्त्री अमित शाहले भूपेन दाको संगीतले असमिया संस्कृतिलाई त्यसका विविधतासहित विश्व मञ्चमा पुर्याएको बताए। उनका गीतहरूले शताब्दीयौँदेखि समाजलाई एकताबद्ध राखेको भावनालाई अभिव्यक्त गरेको शाहले उल्लेख गरे। उनको अमर विरासतले राष्ट्र निर्माणको हाम्रो दृष्टिकोणलाई निरन्तर प्रेरित गरिरहने उनले बताए।

केन्द्रिय कृषि तथा किसान कल्याणमन्त्री शिवराज सिंह चौहानले ‘दिल हूम हूम करे...’, ‘गंगा बहती हो क्यों...’, ‘समय ओ धीरे चलो...’ जस्ता असंख्य गीतमार्फत भूपेन हजारिका सदैव सबैको हृदयमा जीवित रहने बताए। आफ्नो अद्वितीय आवाज, भावपूर्ण रचना तथा संगीतप्रतिको अद्भुत साधनामार्फत उनले भारतीय संगीत जगतलाई समृद्ध बनाएको चौहानले बताए। कला र संगीतप्रतिको उनको समर्पणले संगीतप्रेमीहरूलाई सधैँ प्रेरणा दिइरहने उनले उल्लेख गरे।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande