पश्चिमी सिंहभूम, ११ अक्टोबर (हि.स.)। झारखण्डको पश्चिम सिंहभूम (चाईबासा) जिल्लाको सारंडाको बाक्लो जङ्गलमा शुक्रबार भएको आईईडी विस्फोटमा केन्द्रिय रिजर्भ पुलिस बल (सीआरपीएफ) को ६०औँ बटालियनका हेड कांस्टेबल (जीडी) महेन्द्र लश्करको बलिदान भएकाे छ। उनलाई गम्भीर अवस्थामा अस्पतालमा भर्ना गरिएको थियो, तर उपचारका क्रममा शुक्रबार राति उनको निधन भयो। उनी असमका बासिन्दा हुन्। बटालियनमा शोकको वातावरण छाएको छ।
यस विस्फोटमा घाइते इन्स्पेक्टर (जीडी) कौशल कुमार मिश्रा र एएसआई (जीडी) रामकृष्ण गागराईलाई राउरकेलास्थित अपोलो अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ। दुबैको अवस्था अहिले खतराबाट बाहिर रहेको बताइएको छ। घाइते एएसआई रामकृष्ण गागराई झारखण्डका खरसावाँ क्षेत्रका विधायक दशरथ गागराईका भाई हुन्। सीआरपीएफ अधिकारीहरूले जनाएका छन्, घाइतेहरूलाई उत्कृष्ट उपचार प्रदान गरिँदैछ। उनले भने, जवान महेन्द्र लश्करको बलिदान व्यर्थ जाने छैन। घटनापछि सुरक्षा बलहरूले क्षेत्रमा खोजी अभियान तीव्र पारेका छन् र माओवादीहरूको खोजी जारी छ।
यो विस्फोट शुक्रबार साँझ करिब चार बजे भएको थियो। सुरक्षा बलहरू नक्सल प्रभावित क्षेत्रमा तलासी अभियानमा थिए। त्यस क्रममा माओवादीहरूले पहिले नै राखेको आईईडीमा विस्फोट भयो। विस्फोटपछि क्षेत्रमा गोलीबारी पनि भएको बताइएको छ।
उल्लेखनीय छ, पछिल्ला केही महिनामा सारंडा क्षेत्रमा आईईडी विस्फोटका घटनाहरू बढेका छन्। गत ८ अगस्टमा सीआरपीएफको २०९औँ कोब्रा बटालियनका दुई जवान घाइते भएका थिए, भने २२ मार्चमा एक सब-इन्स्पेक्टरको उपचारका क्रममा मृत्यु भएको थियो। अप्रिल महिनामा पनि झारखण्ड जगुआरका एक जवान आईईडी विस्फोटमा शहीद भएका थिए।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी