कोलकाता, 13 अक्टोबर (हि.स.)। दुर्गापुरमा मेडिकल छात्रासित भएको सामूहिक दुष्कर्मको मामिलामा तृणमूल सांसद डा. काकोली घोष दस्तीवारले दिएको बयानले सोमवार नयाँ विवादलाई जन्म दिएको छ। उनले भनिन्, “यस्ता कुनै समाज वा देश छैन जहाँ यस किसिमका घटनाहरू नभएको होस्।”
उक्त बयान यस्तो समयमा आएको छ जतिबेला मुख्यमन्त्री ममता ब्यानर्जीले गए आइतवार भनेकी थिइन्, “युवतीहरू राति बाहिर जानु हुँदैन” र यो प्रश्न पनि उठाएकी थिइन्, “छात्रा राति साढ़े बाह्र बजी कलेज परिसरदेखि बाहिर किन गएकी थिइन्।” यद्यपि कलेजको रेकर्ड अनुसार पीड़िता साँझ 8 बजी नै बाहिर गएकी थिइन्।
पत्रकारहरूसितको बातचितमा सांसद दस्तीदारले भने, “कुनै पनि समाजमा एक-दुई वटा यस्तो मामिला हुन्छ नै। यस्तो कुनै देश छैन जहाँ यस किसिमका घटनाहरू नभएको होस्।”
उनले अझ भनिन्, पश्चिम बंगाल सरकारले महिलाहरूको सुरक्षालाई लिएर ‘अपराजिता बिल’ विधानसभाबाट पारित गरेको छ, तर त्यसलाई अहिलेसम्म पनि राष्ट्रपतिले स्वीकृति दिएकी छैनन्। दस्तीदारले केन्द्र सरकारमाथि आरोप लगाउँदै भनिन्, “हामीले पश्चिम बंगाल विधानसभामा ‘अपराजिता बिल’ पास गरेका छौं जुन अब दिल्लीमा अड़्किएको छ। राष्ट्रपतिले अहिलेसम्म पनि त्यसमा हस्ताक्षर गरेकी छैनन्। हामीले बारम्बार माग गर्दा पनि बिललाई स्वीकृति दिइएन। त्यसैले जिम्मेवारी केन्द्र सरकारको हो।”
स्मरण गराइन्छ, ओडिशा निवासी द्वितीय वर्षकी मेडिकल छात्रासित गत 10 अक्टोबरको राति दुर्गापुरमा सामूहिक दुष्कर्म भएको थियो। छात्रा आफ्नो पुरूष मित्रसित डिनरको लागि कलेज क्याम्पसदेखि बाहिर गएकी थिइन्। यसै समय बाइकमा सवार युवकहरूको एक गिरोहले उनलाई पछ्याउँदै अश्लील टिप्पणीहरू गरे। त्यसपछि ती युवकहरूले पुरूष मित्रलाई लखेटे अनि छात्रासित दुष्कर्म गरे। छात्राको मोबाइल फोनलाई पनि फालिदिए।
पछि छात्राको पुरूष मित्रले अन्य छात्रहरूलाई लिएर घटनास्थलमा पुग्यो जहाँ छात्रालाई घाइते अवस्थामा भुइँमा लड़िरहेको भेटियो। तत्कालै तिनलाई स्थानीय अस्पतालमा भर्ती गरियो। पुलिसले अहिलेसम्ममा शेख रियाजुद्दीन, अपू बाउरी र फिरदौस शेख नामक तीन जना आरोपीहरूलाई पक्राउ गरेको छ भने सोमवार बिहान थप एक जनालाई पक्राउ गरिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा