इण्फाल 14 अक्टोबर (हि.स.)। मणिपुरको चुराचाँदपुर औ बिष्णुपुर जिल्लामा पुलिस तथा सुरक्षा बलहरूको समन्वित अभियानको क्रममा कतिपय स्थानहरूबाट हतियार अनि गोला-बारूदको ठूलो भण्डार नै जफत गरिएको छ जसबाट क्षेत्रमा अवैध हतियारहरूको प्रचलनलाई रोक्नको लागि भइरहेको प्रयासलाई ठूलो सफलता प्राप्त भएको छ।
मणिपुर पुलिस मुख्यालयद्वारा सोशल मीडियाको माध्यमबाट दिइएको आधिकारिक बयान अनुसार विशिष्ट गुप्त सूचनाको आधारमा कारबाही गर्दै सुरक्षा बलहरूले चुराचाँदपुर पुलिस स्टेशन अन्तर्गत नेपाली बस्ती क्षेत्रमा खोजी अभियान संचालन गरे जहाँबाट विभिन्न प्रकारका स्थानीय रूपमा निर्मित तथा सैन्य-ग्रेड हतियार जफत गरियो। जफत गरिएका हतियारहरूमा सिंगल ब्यारल राइफल, एउटा देशी मोर्टार (पोम्पी), दुई वटा देशी ग्रेनेड, तीन वटा देशी गोला, आठ वटा मोर्टर बम, पन्ध्र वटा एके-47 को खाली कारतूस, 7.62 मिमी गोला-बारूदको पच्चीस जिउँदो राउण्ड तथा दुई वटा काठको भेदी गोला सामेल छन्।
यता बिष्णुपुर जिल्लाको मोइरांग पुलिस स्टेशन अन्तर्गत एक भिन्नै अभियानमा सुरक्षा बलहरूले केइफा रोड क्षेत्रबाट हतियार अनि सामरिक उपकरणहरूको एउटा भण्डारलाई जफत गऱ्यो जसमा एउटा .303 स्नाइपर राइफल, एउटा म्यागजिन, एउटा दूरबीन, एउटा देशी स्टेन गन, दुई वटा सिंगल ब्यारल राइफल, एउटा .32 देशी पेस्तोल, एउटा म्यागजिन, दुई वटा बीपी पाउच, पाँच वटा बीपी प्लेट औ एउटा रबर ट्यूब सामेल छन्।
यसरी नै मोइरांग पुलिस स्टेशन अन्तर्गत फुबाला ममांग पटमा संचालित तेस्रो अभियान अवधि सुरक्षा बलहरूले एउटा इंसास लाइट मशिन गन (एलएमजी), एउटा म्यागजिन, एउटा एसबीबीएल गन, एउटा चीनीयाँ हतगोला, पाँच वटा 5.56 मिमी इंसास कारतूस, पाँच वटा ब्यालिस्टिक कारतूस, छः वटा 12 बोरको कारतूस, तीन वटा .303 कारतूस चार्जर, एउटा ट्यूब लन्चिंग सिलेण्डर, एउटा बाओफेंग ह्याण्डहेल्ड रेडियो सेट, तीन वटा बुलेटप्रूफ हेलमेट, चार वटा बीपी प्लेट र एउटा रबर ट्यूब जफत गरियो।
अधिकारीहरूले जफत गरिएका हतियारहरूको उत्पत्ति र यसको प्रयोगको उदेश्य पत्तो लगाउन अग्रिम जाँच गरिरहेका छन्।
--
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा