पैह्रोले क्षतिग्रस्त घर नयाँ बनाउन प्रत्येकलाई 1 लाख 20 हजार रुपियाँ प्रदान गर्ने घोषणा
दार्जिलिङ, 14 अक्टोबर (हि.स.)। पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जी आज मिरिक हुँदै सुके पोखरी पुगेर प्रशासनिक बैठक गर्नुका साथै पैह्रोको चपेटमा परेर मृत्यु भएका परिवारका 11 जनालाई होम गार्डमा नोकरीको लागि नियुक्ति पत्र प्रदान गरिन्। यसावधि उनले पैह्रोको चपेटमा परेर मृत्यु हुनेका 4 जनाको परिवारलाई पाँच लाख गरेर चेक पनि वितरण गरिन्।
यसका साथै पैह्रोले क्षति गरेको घरहरुलाई नयाँ घर बनाउनको लागि प्रत्येकलाई 1 लाख बीस हजार गरेर प्रदान गर्ने घोषणा पनि गरिन्। आज बिहान राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी खरसाङबाट मिरिक हुँदै सुखे पोखरी पुगेकी थिइन्। उनले मिरिकमा पैह्रो पीडित परिवारहरुलाई भेट पनि गरिन्। यसावधि उनले गत 4 अक्टोबर राति पैह्रोको चपेटमा परेर एकै परिवारका तीन जनाको मृत्यु भएको परिवारसित भेट गर्न घरमै पुगेकी थिइन्।
उनले घरमा पुगेर मृतकहरुलाई श्रद्धाञ्जली अर्पण गर्दै शोकित परिवारमा गहिरो प्रभाव शोक समवेदना प्रकट गरिन्। त्यसपछि उनी सुखे पोखरी खण्ड विकास कार्यालयमा पुगेर प्रशासनिक बैठक गर्नुको साथै पैह्रोले ज्यान गुमाएका परिवारका एकजनालाई नोकरीको लागि नियुक्ति पत्र प्रदान गरिन् भने 4 जनालाई 5 लाख गरेर चेक वितरण पनि गरिन्।
आफ्नो सम्बोधनमा मुख्यमन्त्री ममता ब्यानर्जीले आफुले बाढी र पैह्रो पीडितहरुसित बातचीत गरिरहेको र जनताको समस्या नजिकबाट बुझेको बताइन्। उनले पैह्रो र बाढीले गर्दा आफ्नो सबै कागज पत्रहरु गुमाएकाहरुको लागि हरेक क्षेत्रमा नै सहायता क्याम्प चलिरहेको र कागजपत्रहरु सजिले बनिने बताइन्। उनले कसैलाई केही असुविधा भएमा महकुमा शासक, खण्ड विकास अधिकारी, जिल्ला शासक र जीटीएलाई भन्दा भईहाल्ने पनि जानकारी गराइन्।
राज्यकी मुख्यमन्त्री आज सुके पोखरीबाट दार्जिलिङ गइन्। भोलि बुधबार दार्जिलिङ, खरसाङ, मिरिक, कालेबुङलाई लिएर दार्जिलिङमा नै प्रशासनिक बैठक आयोजना गरिने जानकारी प्राप्त भएको छ। मुख्यमन्त्रीको भ्रमणावधि जीटीए प्रमुख अनित थापा, दार्जिलिङका जिल्ला शासक आईएएस डा प्रीति गोयल, जिल्ला पुलिस अधीक्षक, सिलगढीका मेयर गौतम देव लगायत अन्यहरु उपस्थित रहेका थिए।
हिन्दुस्थान समाचार / हनोक