मुख्यमन्त्री ममता ब्यानर्जीले मिरिकमा पैह्रो पीडितहरुसित गरिन् भेट
मुख्यमन्त्री ममता ब्यानर्जीले मिरिकमा पैह्रो पीडितहरुसित गरिन् भेट


मिरिक, 14 अक्टोबर (हि.स.)। राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी आज पैह्रो पीडितहरूलाई भेट्न मिरिक पुगिन्। यस क्रममा उनले मिरिक वार्ड नम्बर तीन थाना लाइनमा पैह्रोको चपेटमा परेर मृत्यु भएका विजेन्द्र राई अनि उषा राईको घरमा पुगेर मृतक परिवारसँग भेट गरिन्। उनले मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरिन्।

त्यसपछि उनले मिरिक बजार सार्वजनिक भवनमा रहेको राहत शिविरको पनि भ्रमण गरिन्। जहाँ उनले शिविरमा बस्दै आइरहेका पीडितहरूसँग कुराकानी गरिन् भने पीडितहरूलाई राहत सामाग्रीहरू पनि वितरण गरिन्। यसरी नै उनले पीडित परिवारहरूको स्वस्थ्य, पैह्रोले पुरिएका कागजपत्रका कामकाजहरू, शिविरमा प्राप्त गर्नुपर्ने अन्य सुविधाहरू के कस्तो प्रकारले भइरहेको छ भन्नेबारे पनि पीडितहरूसँग कुराकानी गरिन्।

यस क्रममा उनीसँगै गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका प्रमुख कार्यपाल अनित थापा, दार्जिलिङका जिल्लापाल डा. प्रीति गोयल, मिरिक महकुमा शासक आईएएस तेन्जी सिमगी ओगेन, मिरिक नगरपालिका अध्यक्ष एलबी राई, मिरिक महकुमा पुलिस अधिकारी विनोदकुमार मिना, खण्ड विकास अधिकारी श्रेयसी मईती, मिरिक थाना प्रभारी सुदिप कुमार विश्वास, डीआफओ सोनाम तामाङ बल लगायत अन्यको उपस्थिति रहेको थियो।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande