गान्तोक, 14 अक्टोबर (हि.स.)। सिक्किमका लोकसभा सांसद डा. इन्द्रहाङ सुब्बाले आज नयाँ दिल्लीमा भारतका उपराष्ट्रपति सीपी राधाकृष्णनलाई भेटेर उपराष्ट्रपतिको रूपमा निर्वाचित भएकोमा हार्दिक बधाई दिए। उपराष्ट्रपतिसॅंग भएको भेट अवधि सांसद सुब्बाले सिक्किम राज्यसँग सम्बन्धित धेरै प्रमुख मुद्दाहरू उल्लेखित ज्ञापनपत्र पनि बुझाएका छन्।
सांसद सुब्बाले सिक्किमका जनता र मुख्यमन्त्री प्रेमसिंह तामाङको तर्फबाट उपराष्ट्रपतिमा शुभकामना व्यक्त गर्दै उपराष्ट्रपतिको नेतृत्वमा राष्ट्रले लोकतन्त्र, सद्भाव र समावेशी विकासको मूल्यमान्यतालाई निरन्तरता दिनेछ भनी विश्वास व्यक्त गरे। उनले उपराष्ट्रपतिलाई बुझाएको ज्ञापनपत्रमा सिक्किम सम्बन्धित आठ प्रमुख मुद्दाहरू सामेल रहेको प्रेस विज्ञप्तिमा उल्लेख छन्, जसलाई राष्ट्रिय ध्यान र केन्द्र सरकारको हस्तक्षेप आवश्यक छ।
उनले मुख्यमन्त्री प्रेमसिंह तामाङको नेतृत्वमा सिक्किम सरकारले लामो समयदेखि थॉंती रहेका यी सरोकारहरूलाई सम्बोधन गर्न निरन्तर प्रयास र केन्द्र सरकारसँग निरन्तर संलग्न रहेको अवगत गराए। सांसद सुब्बाले उपराष्ट्रपतिको सकारात्मक विचार र हस्तक्षेप यी मुद्दाहरूलाई निर्णायक रूपमा समाधान गर्न महत्वपूर्ण हुने बताए।
सांसद सुब्बाले पेश गरेका प्रमुख मुद्दाहरूमा सिक्किमका 12 छुटेका समुदायहरूलाई अनुसूचित जनजातिको सूचीमा समावेश गर्ने, लिम्बू र तामाङ समुदायका लागि विधानसभा सिट आरक्षण, परम पावनको 17औं कर्मापाको सिक्किम भ्रमण, राष्ट्रिय राजमार्ग-10 कनेक्टिभिटी समस्याहरू, रेलवे कनेक्टिभिटी र विस्तार, उत्तर सिक्किम राजमार्ग (लाचेन-लाचुङ) को पुनर्स्थापना, पश्चिम सिक्किम सम्पर्क एवं चिवाभञ्ज्याङमा भारत-नेपाल सीमा विकास र पाकिम विमानस्थलको सञ्चालन सामेल छन्।
सांसद सुब्बाले उपराष्ट्रपतिसँगको वार्ताका क्रममा यी मुद्दाहरू सन्तुलित क्षेत्रीय विकास सुनिश्चित गर्न, कनेक्टिभिटी सुदृढ पार्न र राष्ट्रिय मुख्यधारासँग सिक्किमको एकीकरणलाई गहिरो बनाउन महत्त्वपूर्ण रहेको बताए। उपराष्ट्रपतिले उक्त मागहरूप्रति सकारात्मक प्रतिक्रिया दिएको र आफ्नो कार्यालयबाट सबै सम्भव सहयोगको आश्वासन दिएको कुरा प्रेस विज्ञप्तिमा उल्लेख छ।
हिन्दुस्थान समाचार / बिशाल